
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) अन्तिम समय जिम्मेवारी हेरफेर गर्दै सरकारमा जाने चार मन्त्री र एक राज्यमन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ ।
बिहीबार भएको छलफलबाट टुंगो लगाएको जिम्मेवारीलाई सामान्य हेरफेर गरेर पार्टीले देउवालाई मन्त्रीको नाम बुझाएको हो । बिहीबार स्वास्थ्य मन्त्रालयको जिम्मेवारी रामकुमारी झाँक्रीलाई दिने भनिए पनि अन्तिम समयमा आएर विरोध खतिवडालाई दिने निर्णय भएको छ ।
झाँक्रीले पर्यटन तथा नागरिक उड्डयन र सहरी विकासमध्ये एक पाउने हुनुभएको छ । किसान श्रेष्ठलाई दिइने भनेको श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी भने फेरिएको छैन ।
अब प्रेम आले र झाँक्रीले पर्यटन र सहरी विकासमध्ये एक–एकवटा लिनुपर्ने भएको समाजवादी पार्टीनिकट एक नेताले जानकारी दिनुभयो । भवानी खापुङलाई स्वास्थ्य राज्यमन्त्री बनाइने भएको छ ।
समाजवादीबाट मन्त्रीहरूको नाम पाइसकेकाले अब देउवाले आजै मन्त्रिपरिषद् विस्तार गर्दै दिउँसो ४ बजे सपथग्रहण गराउने तयारीमा हुनहुन्छ । त्यसका लागि उहाँले बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्