
डोलराज रानाभाट
चितवन । चितवनमा जिल्ला ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवस्था सेवा कार्यालयले सुरु गरेको संयुक्त सवारी जाँच प्रभावकारी बन्दै गएको छ । विगतमा ट्राफिक प्रहरीले मात्रै गरेको भए पनि यो वर्ष यातायात व्यवस्था सेवा कार्यालयका कर्मचारी समेत संलग्न रहेर जाँच गर्दा चोरीका मोटरसाइकल धमाधम पक्राउ परेका छन् ।
पछिल्लो समय चितवन प्रहरीले मोटरसाइकल चोरीका गिरोह नै पक्राउ गर्न सफल भएको थियो । उक्त सफलताको प्रारम्भिक विन्दु भने संयुक्त सवारी जाँच हो । चितवनमा जिल्ला ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवस्था सेवा कार्यालयको संयुक्त जाँचले ट्राफिक नियम उल्लघंन गर्नेहरू मात्रै होइन चोरीका मोटरसाइकल प्रयोग गर्नेहरूसमेत कारवाहीमा पर्न थालेका हुन् ।
ट्राफिक प्रहरीले सवारी नियम उल्लंघनको न्यूनिकरणमा जोड दिएर जाँच गरिरहन्छ भने यातायात व्यवस्था सेवा कार्यालयका कर्मचारीले बिलवुक तथा चेसिस, इन्जिन नम्बरहरूलाई निगरानीमा राख्ने गर्दछ । जाँचमा चोरीका सवारी साधन समातिने गरेको र यस्ता जाँचलार्ई अझै धेरै ठाउँमा विस्तार गरिने यातायात व्यवस्था सेवा कार्यालय चितवनका प्रमुख, सुवास उप्रेती बताउनुहुन्छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापा, कार्ययोजना अनुसार नै दुर्घटना न्यूनिकरणका लागि जाँच भइरहने बताउनुहुन्छ । तर, यस पटक संयुक्त जाँचले सवारी नियम पालना गराउनुका साथै चोरीका सवारी समेत बरामद गर्न मद्दत मिलेकोमा खुसी व्यक्त गर्नुहुन्छ । यातायात कार्यालय र ट्राफिक प्रहरीको संयुक्त जाँचले हराएका सवारी भेटिँदा सवारी धनीहरू खुसी भएको उहाँ बताउनुहुन्छ ।
लकडाउन खुलेसँगै चितवनमा बढ्दो सवारी चापलाई मध्यनजर गरेर ट्राफिक प्रहरीले चेकजाँचलाई बढाएको प्रहरी निरीक्षक थापाको तर्क छ । सवारी चेकजाँचमा राजस्व संकलनलाई भन्दा बढी सचेतनामा जोड दिएको उहाँको भनाइ छ । सहज सवारी आवागमन, सर्वसाधारण सुरक्षित गन्तव्यमा पुग्न मद्दत र सडक दुर्घटना न्यूनिकरणका लागि आफूहरू लागिपरेको उहाँ बताउहुन्छ ।
मोटरसाइकल हरायो भनेर निवेदन दिए पनि त्यसपछि धेरैले चासो दिँदैनन् । तर, प्रहरीले भने निरन्तर अनुसन्धान जारी राख्ने र यसरी हुने चेकजाँचबाट पत्ता लाग्ने गरेका जनाएको छ । चितवन ट्राफिक र यातायात व्यवस्था सेवा कार्यालयको संयुक्त जाँच कार्य सह्रानीय त छ नै, यसले दुर्घटना न्यूनिकरण र ट्राफिक नियम पालना गराउनसमेत मद्दत पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्