
गृष्मा राजभण्डारी
काठमाडौं । दोलखाका रामप्रसाद कँडेलले संघर्ष गरेर ६ सन्तान हुर्काए । दुई दशक जागिर खाए । अहिले उनी नयाँ बसपार्कमा पानी बेचेर जीविका गरिरहेका छन् । काम ठूलो सानो त हुँदैन । तर, शरीर नै धर्मराउन थालेपछि उनीभित्र न व्यवसाय गर्ने साहस छ, न सन्तानको आडभरोसा ।
६ सन्तान भएपछि रामप्रसादलाई लागेको थियो– जीवनको उत्तरार्द्धमा सहज हुनेछ । तर, समयलाई त्यो मञ्जुर भएन । सन्तान लाखापाखा लागे । कमाएको सम्पत्ति सन्तानकै शिक्षादीक्षामा सकियो । अनि दालभात जुटाउन बुढेसकालको शरीर घिसारेर पानी बेच्न थाले ।
पानी बेच्न थालेको पनि ६ वर्ष वितिसक्यो । उनी गुड्दै गरेको बस पक्रन सक्दैनन् । बस नपक्रिए व्यापार हुँदैन । दशैंमा घर जानेको भीडले बसपार्क गुल्जार भइरहँदा उनी आफूलाई एकांकी सम्झिएर बलिन्द्र आँसु झार्छन् । मानौं भीडभित्र पनि एक्ला छन् उनी ।
पानी बेचेर दिनको ३ सय बढी कट्दैन । हात पसारेर खान स्वाभिमानले दिँदैन । ‘जति नै दुःख परे पनि नखाइ नहुने रैछ,’ आँसुु झार्दै उनी भन्छन्, ‘लानु केही छैन, बाचुन्जेल खानैपर्यो ।’ पानी बेच्दै गर्दा उनलाई दुईपटक गाडीले ठक्कर दिइसक्यो । ‘दुई पटकसम्म गाडीले हानिसक्यो,’ उनी भन्छन्, ‘खै कसरी–कसरी होस आएर बाँचेछु ।’
पानी बेच्दा बेच्दै थाकेपछि रामप्रसाद नजिकैको चौतारामा बसेर चिया खाँदै सुस्ताउँछन् । विगत झलझली आउँछ । त्यसपछि आँखा गंगा बनाएर आफैंले आफैंलाई सम्हादै काममा फर्कन्छन् । मध्यमवर्गीय थुप्रै ज्येष्ठ नागरिकको कथा हो यो । आफ्नो श्रममा बाँच्न चाहने यस्ता पात्र दया होइन, प्रोत्साहन खोजेका छन् । प्रेमको भरोसा चाहेका छन् ।
प्रतिक्रिया दिनुहोस्