१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


यात्रुको सधैँको गुनासो–‘सहचालकको व्यवहार राम्रो भएन’, अनि उनीहरूप्रति तपाईंको नि ?


0
Shares

मालती घोरासैनी
काठमाडौं । सार्वजनिक यातायातका सहचालकले राम्रो व्यवहार नगरेको गुनासो धेरै यात्रुको मुखबाट सुन्न पाइन्छ । के त्यसो भए यात्रुको व्यवहारबाट चाहिँ उनीहरू सन्तुष्ट छन् त ?

आफू र आफ्नो कामलाई तुच्छ नजरले हेर्ने गरिएको प्रति सहचालकको गुनासो छ । अझ दिनको १८ घण्टासम्म काममा जोतिँदा पनि दशैंमा घर जाने खर्च जोहो गर्न नसकेको पीडाले भतभती पोल्ने गर्छ ।

दोलखा घर भएका १९ वर्षीय सुशान्त दाहालले कमजोर आर्थिक अवस्थाका कारण पढाई पूरा गर्न पाएनन् । १० कक्षासम्म मात्र पढ्न पाएका सुशान्तले सार्वजनिक यातायातमा काम गरेको ४ वर्ष भयो । बागबजारदेखि भक्तपुर रुटमा चल्ने सवारी साधनमा काम गर्ने उनी दिनको १८ घण्टासम्म खटिने गर्छन् ।

बिहान ५ बजेदेखि राति ९ बजेसम्म खटिने सुशान्त, यात्रुले गर्ने व्यवहारले भने चोट लाग्ने गरेको बताउँछन् । दिनभर घाम पानी, धुलो धुवाँ नभनी गाडीमा हिँडेका उनी पैसाको जोहो हुन नसक्दा यसपटक दशैंमा घर जान नपाएको गुनासो गर्छन् ।

‘पूरा भाडा माग्दा यात्रुहरू कराउँछन्, बोल्यो भने कुटुँला झैँ गर्छन्,’ उनी भन्छन्, ‘पैसा कमाउन सकिएको छैन, कसरी बुवाआमालाई अनुहार देखाउनु ?’

सुशान्तजस्तै रामेछाप घर भएका जय खड्का पनि ४ वर्षदेखि सहचालकको काम गर्छन् । दिनको १३ घण्टा काम गर्ने जयलाई यात्रुहरूले गर्ने व्यवहारले दिक्क पार्छ । मेहनतअनुसार कमाइ नभएको गुनासो उनको छ ।

२० वर्ष सहचालक भएर काम गरेका दोलखाका रोहित ढुङ्गेल आफैं बस मालिक हुन् । भक्तपुर रुटमा नै बस चलाउने उनी यात्रु र चालकबीच सम्बन्ध सुधार हुन नसकेको गुनासो गर्छन् ।

समाजमा विभिन्न पेशा व्यवसाय गर्ने मानिस छन् । सबै पेशा व्यवसायको समान महत्व मात्र हुँदैन, त्यसमा सहभागी नागरिकको मर्यादा एउटै हुन्छ । विभिन्न काम र पेशा व्यवसाय सँग–सँगै त्यसमा संलग्नप्रति समान व्यवहार देखाउनु हरेक सचेत नागरिकको कर्तव्य हो ।