
खिलनाथ ताजपुरिया
काठमाडौं । विधान महाधिवेशनपछि राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई आगामी नेतृत्वमा सर्वसम्मत गराउन संस्थापन पक्ष जोडबलसाथ लागेको छ ।
तर, विधानमा ७० वर्षे उमेर हद सुनिश्चितताको लाभ लिँदै अर्को पटक अवसरको ढोका बन्द हुने अवस्थाका अन्य आकांक्षी पनि प्रत्याशी हुने सम्भावना छ ।
विधान महाधिवेशनले पार्टीको आगामी नेतृत्वमा अध्यक्ष ओलीलाई नै सहज हुने गरी रोडम्याप बनाएपछि नेतृत्व दोहोरिने सम्भावना देखिएको छ । कार्यकारी पदमा दुई पटकसम्म उम्मेद्वारी दिन सक्ने गरि बनेको विधानले अध्यक्ष ओलीलाई नेतृत्वमा दोहोरिने बाटो खुकुलो पारेको छ ।
ईश्वर पोखरेल, सुवास नेम्वाङ, भीम रावलजस्ता शीर्ष नेताहरूका लागि पनि पार्टी नेतृत्वमा फड्को हान्ने यो अन्तिम अवसर हो । यद्यपि पार्टीको संस्थापन पक्षका नेता शेरबहादुर तामाङ, अबको पार्टी र चुनावी नेतृत्व ओलीले नै सम्हाल्नेमा ढुक्क देखिनुहुन्छ ।
विधान महाधिवेशन ओलीमय बनेको सन्दर्भमा एमालेको महाधिवेशनमा प्रतिस्पर्धाको होड कस्तो होला भन्ने धेरैमा जिज्ञासा छ । ओलीको विकल्पमा अहिलेसम्म औपचारिक रूपमै कुनै आकांक्षी नखुले पनि पार्टी लोकतान्त्रिक विधि पद्धतिअनुसार नै नेतृत्व चयनमा अघि बढ्ने विश्वास तामाङको छ ।
आफूहरू सर्वसम्मति अध्यक्ष चुन्ने प्रयास रहे पनि कसैले चाहेको खण्डमा लोकतान्त्रिक विधिअनुसार आउन सक्ने र प्रतिस्पर्धाको बाटो बन्द नहुने उहाँको भनाइ छ ।
आगामी मंसिर १० देखि १२ गतेसम्म राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने गरि गृहकार्यमा जुटेको एमाले असोज मसान्तभित्र ७७ वटै जिल्लामा सदस्यता नविकरण र नयाँ सदस्य वितरण, कात्र्तिक ६ मा सबै वडाको अधिवेशन र कात्तिक ९ गते पालिकास्तर अधिवेशनसँगै स्थानीय तहका कमिटिलाई व्यवस्थापन गर्ने कार्यतालिका बनाएको छ ।
प्रतिक्रिया दिनुहोस्