
काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रमा आमुल परिवर्तन गर्नका लागि आफ्नो प्रयत्न रहने बताउनुभएको छ ।
शुक्रबार मन्त्रालयमा आफ्नो कार्यभार सम्हाल्दै मन्त्री पौडेलले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्दै आमुल परिवर्तनका लागि आफ्नो प्रयत्न रहने बताउनुभएको हो । उहाँले आफूले देश र जनताको पक्षमा शिक्षा क्षेत्रबाट हुनुपर्ने काम गर्ने र अहोरात्र खटेर परिणाम निकाल्ने बताउनुभयो ।
उहाँले भन्नुभयो – ‘शिक्षा क्षेत्रमा समस्याहरू छन् । शिक्षा मन्त्रालयले पहिलेदेखि नै केही सुधार गर्ने प्रयत्न गरेको छ । म मेरो आफ्नो लागि वा कसैको लागि व्यक्तिगत प्रयोजनको लागि भन्दा पनि शिक्षामा आमुल परिवर्तन गर्ने प्रयत्न गर्नेछु र त्यसको साथसाथै देश र जनताको पक्षमा शैक्षिक क्षेत्रबाट हुनुपर्ने कामहरुको निम्ति अहोरात्र खटेर परिणाम निकाल्ने प्रयत्न गर्नेछु ।’
मन्त्री पौडेलले समाजवाद उन्मुख राज्य प्रणाली स्थापनाका लागि शिक्षा क्षेत्रबाट गर्नुपर्ने शैक्षिक सुधार, आवश्यक जनशक्ति उत्पादन र नीतिगत सुधार गर्नका लागि पनि आफ्नो तर्फबाट सकेको काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले शैक्षिक बेरोजगारको समस्या समाधानका निम्ति आफ्नो अधिकतम प्रयत्न रहने उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्