
काठमाडौं । सत्ता गठबन्धनको मुख्य घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नवनियुक्तमन्त्री गजेन्द्र हमालका बारेमा चलेको चर्चाको कुनै तुक नभएको जिकिर बताउनु भएको छ ।
आज बिहान भरतपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले हमाललाई मन्त्री बनाएको विषयमा होहल्ला गर्नु आवश्यक नै नभएको जिकिर गर्नुभयो । अध्यक्ष दाहालले हमाललाई काँग्रेसको मान्छे भन्दै उहाँ कांग्रेसकै कोटाबाट मन्त्री भएकाले यताको र उताको भन्न आवश्यक नरहेको बताउनुभयो ।
पहिलो पटक संसद् विघटन हुँदा ओलीले सेटिङ गरेको हुन सक्ने चर्चा चलेझैं अहिले कसैले त्यसैको सिको गरेर सेटिङ भन्न थालेको हुन सक्ने उहाँको भनाइ थियो ।
कांग्रेसी पृष्ठभूमि भएका हमाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको जिम्मेवारी दिनु भएको छ । उहाँ नाताले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नातेदार हुनुहुन्छ ।
हमाल संघीय संसद् सदस्य हुनुहुन्न । गैरसांसद पनि निश्चित समयका लागि मन्त्री बन्न पाउने संवैधानिक प्रावधान रहेको र यसअघि पनि यस्तो काम धेरै भएकाले हमालको विषय कुनै नयाँ नभएको अध्यक्ष दाहालको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्