२८ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025


मल अभावले वर्षेनी हैरानी खेप्दै किसान, उत्पादनमा समेत ह्रास


0
Shares

सर्लाही । सरोकारवालाको ध्यान नपुग्दा मलको अभावमा कृषकले वर्षेनी हैरानी खेप्दै आएका छन् । पर्याप्त मल नपाउँदा बाली उत्पादनमै ह्रास आउने गरेको छ ।

धानबाली लगाएका देशभरका कृषकको अवस्था यसपाली पनि उस्तै छ । तराईका अधिकांश जिल्लाका कृषकले अवैध रूपमा भारतबाट कमसल मल ल्याएर धानबालीमा हालिरहेका छन् । प्रतिकिलो १८ रुपैयाँमा पाउने युरिया मल अहिले ४० रुपैयाँमा किन्न बाध्य छन् ।

भारतीय बजारमा ७ सय नेपालीमा पाउने एक बोरा मल १८ सय रुपैयाँमा किनबेच भइरहेको छ । कृषि सामग्री केन्द्रले पर्याप्त मात्रामा मल आपूर्ति नगर्दा मल अभाव भएको हो । यसबेला कृषि सामग्री कम्पनीको नवलपुर शाखामा एक बोरा युरिया मल मौज्दात छैन ।

कम्पनीका शाखा प्रमुख दीपक थापा अब केही दिनमै मल आउने बताउनुुहुन्छ । किसानका लागि ल्याइएको अनुदानको मल कृषि सामग्री कम्पनीको शाखाबाट लिँदा भीडभाड हुने भएपछि केही वर्षअघिदेखि कम्पनीले सहकारीमार्फत दिने नीति बनाएको थियो ।

तर पनि सहज ढंगमा मल उपलब्ध हुन सकेको छैन । मल अभावकै कारण कम्पनीले प्रत्येक सहकारीलाई भाग लगाएर मल वितरण गर्दै आएको छ । थोरै परिमाण पाएकोमा पनि कतिपय सहकारीले समेत कालोबजारी गर्ने गरेका छन् । मलको सहज आपूर्ति र वितरणका लागि तीनै तहका सरकारले वास्ता नगरेको किसानको गुनासो छ ।

किसानका लागि आउने मल सहकारीमा नपाउनु, व्यापारीले बढी मूल्यमा मल बिक्री गर्दा पनि कम्पनीका कर्मचारी मौन बस्नुमा उनीहरूको संलग्नता रहेको किसानको आरोप छ ।