१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


केपी ओलीले गल्ती स्वीकार्छन् भने नयाँ ढंगले सोच्न सकिन्छ– अध्यक्ष नेपाल

‘आगामी निर्वाचन पाँच दलकै गठबन्धन जिल्ला–जिल्लामा जान्छ’

0
Shares

काभ्रे । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले गल्ती स्वीकार गरेमा नयाँ ढंगले सोच्न सकिने बताउनुभएको छ ।

पार्टीले विजया दशमी, शुभ दिपावली, नेपाल संवत् र छठ पर्वको अवसरमा बनेपामा आयोजना गरेको शुभकामना आदानप्रदान एवं जिल्ला कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो ।

प्रतिनिधिसभा विघटन गरेर गल्ती गरेको, पार्टीमा अपनाएको गलत तरिका, देशलाई राम्ररी हाक्न नसकेको र सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको जिम्मेवारी लिन ओली तयार भएमा नयाँ ढंगले सोच्न सकिने नेपालले बताउनुभयो । यद्यपि ओली सुध्रिने आश भने आफूमा नभएको उहाँको भनाइ छ ।

अध्यक्ष नेपालले आफूहरू पुष्पलालको उत्तराधिकारी भएको पनि बताउनुभएको छ । पुष्पलालले ‘कम्युनिष्ट पार्टीमा नेता हैन नीति र विचार प्रधान हुन्छ’ भन्ने सिकाउनुभएको र आफूहरूले त्यसलाई अनुशरण गरेको उहाँको दावी छ ।

एमालेले जनताले विश्वास गरेर दिएको भोटको दुरुपयोग गरेको पनि अध्यक्ष नेपालको आरोप छ । विगतका सरकारले गरेका गल्ती नदोहोर्याउन र सहि ढंगले अघि बढ्न पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

आगामी निर्वाचनमा गठबन्धनमा रहेका पाँच दल नै जिल्ला–जिल्ला र पालिकामा गठबन्धन गरेर जाने उहाँको भनाइ छ ।