२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


६९ करोडमा काठमाडौं महानगरपालिकाको भवन बन्दै, मेयर शाक्यद्वारा शिलान्यास


0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो प्रशासनिक भवन निमाणकोे शिलान्याश गरेको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वातावरण विभाग रहेको स्थानमा भवन निमाणकोे शिलान्यास गर्नुभयो । करिब ६ रोपनी क्षेत्रफलमा भूमिगत तलासहितको ८ तले सुविधासम्पन्न भवन बन्न लागेको हो ।

काठमाडौं महानगरपालिकाको पहिचान तथा वास्तुशैलीलाई आधार बनाएर भवनको डिजाइन तयार गरिएको महानगरले जनाएको छ । भवन भित्र नेवारी शैलीको चोकहरू रहनेछ ।

भवन संरचनामा प्रत्येक तल्लामा कार्यालयहरू, बैठक हल, प्रशासन/कर्मचारी/आगन्तुक एवं कार्यालय सञ्चालन र मर्मतका लागि आवश्यक स्थान छुट्याइएको छ । भवनमा विपदको समयमा प्रयोग गर्न सकिने गरि आपतकालीन मार्ग तथा सुरक्षित भर्‍याङ रहनेछ ।

महानगरपालिकाका प्रमुख शाक्यले आफ्नो कार्यकालमा सबै महानगरपालिकाका वडाका कार्यालय भवनको पुनर्निमाण र नयाँ निर्माणलाई सम्पन्न गर्ने प्रतिवद्धता अनुसार नै केन्द्रीय भवनको शिलान्यास गरेको बताउनुभयो ।

महानगरको अहिलेको हरिभवनमा केन्द्रीय कार्यालय बनाउन विभिन्न अड्चन आएको कारणले सुन्धारामा केन्द्रीय भवन बनाउन नसकेको उहाँले बताउनुभयो ।

महानगरपालिकाको केन्द्रीय कार्यालय रहने भवन ९२ हजार ६८ वर्गफुटको क्षेत्रफलमा रहने छ । भवनको जमिन तलादेखि सातौं तलासम्म कार्यालय प्रयोजनका लागि प्रयोग हुनेछ भने आठौं तलामा २ सय जना क्षमताको र १ सय जना क्षमताको छुट्टाछुट्टै २ हल निर्माण गरिने महानगरपालिकाले जनाएको छ ।

भवन २०८० असोज मसान्तसम्ममा सम्पन्न गर्ने गरी ठेक्काको जिम्मा समानान्तर निर्माण सेवा प्रालिले पाएको छ । भवन निर्माणको लागत ६९ करोड ५८ लाख १९ हजार ३ सय ५९ रहेको छ ।