
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम तोकिएको समयमै सक्नेगरी तीव्र गतिमा गर्न निर्देशन दिनुभएको छ ।
आइतबार पोखरा पुग्नुभएका प्रधानमन्त्री देउवाले सोमबार विहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षणका क्रममा सबै समस्या हल गर्ने भन्दै समयमै काम सक्नेगरी अघि बढ्न निर्देशन दिनुभयो । विमानस्थलको प्रगति र विद्यमान समस्याबारे आयोजना प्रमुख विनेश मुनकर्मीले ब्रिफिङ गर्नुभएको थियो ।
विमानस्थलबाट उडान अवरोध गर्ने भएकाले काट्ने भनिएको रिठ्ठेपानी डाँडाको रक ईआईए नहुँदा काम अगाडि नबढेको, उत्तरबाट आउने बाढी विमानस्थल छिर्ने समस्या र त्यसले कटानसमेत गर्ने गरेको समस्या मुनकर्मीले प्रधानमन्त्री देउवालाई सुनाउनुभएको थियो ।
बाढी व्यवस्थापन तथा कटान नियन्त्रण गर्न ३४ करोड रुपैयाँ लाग्ने मुनकर्मीको भनाइ थियो । डाँडा कटान गर्न तीन महीना लाग्ने मुनकर्मीले देउवालाई अवगत गराउनुभयो । प्रधानमन्त्री देउवाले विमानस्थलका सबै समस्या हल गर्ने बताउँदै कामलाई तीव्र बनाउन निर्देशन दिनुभएको हो । डाँडा कटानका लागि ईआईए गर्दै गर्ने र काम पनि अगाडि बढाउन देउवाले आग्रह गर्नुभयो ।
प्रधानमन्त्रीले विमानस्थल निर्माण छिटो सक्ने र उडानका लागि आवश्यक प्रक्रिया पूरा गरेर सञ्चालनमा ल्याउने बताउनुभयो । यो विमानस्थल बनेपछि देशको समृद्धि र पर्यटकीय सहर पोखराका लागि पनि धेरै महत्वपूर्ण हुने देउवाको भनाइ थियो ।
ल्याण्डफिल्डका लागि सहजीकरण गर्ने, डाँडा कटान, ढल तथा कटान व्यवस्थापनमा संघ सरकारले समस्या समाधान गर्ने प्रधानमन्त्रीले बताएको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जानकारी दिनुभयो । विमानस्थल नजिकै रहेको पोखरा महानगरको ल्याण्डफिल्डका कारण उडान अवरुद्ध हुने बताइए पनि अहिलेसम्म अर्को विकल्प तयार भइसकेको छैन ।
जनवरीदेखि आन्तरिक उडान गर्ने भनिएको भए पनि त्यो सम्भव नहुने मुनकर्मीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्