
म्याग्दी । म्याग्दीको राहुघाट जलविद्युत् आयोजनाको बाँध निर्माण करिब चार महिनापछि सुरु भएको छ ।
सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित आयोजना करीब चार महिनापछि निर्माण कार्य सुरू भएकाे हाे ।
रघुगङ्गा गाउँपालिका–४ बुग्लको पहिरोका कारण मजदुर, यातायात र ढुवानीका साधन आवतजावत गर्न नसकेपछि ४० मेगावाट क्षमताको राहुघाटको बाँध र १ नम्बर अडिटबाट सुरुङ निर्माण गत असार महिनादेखि रोकिएको थियो ।
पहिरो पन्छाएर पहुँचमार्ग मर्मत गरेपछि बाँध क्षेत्रमा निर्माण सञ्चालन भएको आयोजनाको प्रवद्र्धक रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले बताउनुभयो । उहाँले दसैँलगायत चाडपर्वको समयमा पनि आयोजना निर्माणलाई निरन्तरता दिएको बताउनुभयो । अँधेरीखोलाको अडिट–२ पुग्ने पहुँचमार्ग मर्मत गरेर गत भदौदेखि दुईतर्फी सुरुङ निर्माण सुरु गराइएको थियो । भारतीय सिभिल ठेकेदार जयप्रकाश एशोसिएट्स (जेपी) ले बाँधमा जग्गा व्यवस्थापनसँगै १ नम्बरको अडिटबाट सुरुङ खन्ने तयारी गरेको छ ।
बुग्लको पहिराले तुदी हाइड्रोपावरद्वारा सञ्चालित ४८ मेगावाटको अपर राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृह निर्माण पनि रोकिएको थियो । राहुघाट जलविद्युत् आयोजनाका व्यवस्थापक राज विष्टले बर्खायाममा प्रतिकूल मौसम र पहिराका कारण प्रभावित भएको निर्माणकार्य लयमा फर्किएको बताउनुभयो । नेपाल विद्युत् प्राधिकरणको शतप्रतिशत सेयर लगानीमा विसं २०७३ मा स्थापना भएको रघुगङ्गा हाइड्रोपावर लिमिटेडसँग विसं २०७४ मङ्सिरमा ठेक्का सम्झौता गरेको सिभिल ठेकेदार जेपीले हालसम्म सर्चसाफ्ट र चारवटै अडिट ९मुख्य सुरुङमा पुग्ने पहुँचमार्ग०को ब्रेकथ्रु गरेको छ ।
भारतीय आयात–निर्यात (एक्जिम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा विद्युत् प्राधिकरण र नेपाल सरकारकोे संयुक्त लगानीमा निर्माण गर्न लागिएको यस आयोजनाको हालसम्म ३० प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ । ठेकेदार कम्पनीले पर्याप्त मात्रामा मजदुर, उपकरण परिचालन गर्न र निर्माण सामग्री तथा उपकरण जुटाउन नसक्दा राहुघाट निर्माणमा ढिलासुस्ती भएको आयोजना प्रभावित क्षेत्रमा पर्ने रघुगङ्गा गाउँपालिका–३ का अध्यक्ष जीवनकुमार मल्लले बताउनुभयो । ४५ महिनाको म्याद सकिएपछि प्राकृतिक विपद् र कोरोनाको महामारीलाई कारण देखाएर एक वर्ष म्याद थप गर्न प्रस्ताव गरेको छ ।
प्रतिक्रिया दिनुहोस्