
डोलराज रानाभाट
चितवन । दसैँमा घर जाने र आउनेको चहलपहल चितवनमा वाक्लीदै गएको छ । पूर्व पश्चिम तर्फ जाने यात्रु देखि पोखरा काठमाण्डौका लागि छुट्ने सवै प्रकारका बसहरुको भीडभाड हुने स्थलहरुमा यात्रुहरुको लाम देखिन्छ ।
विभिन्न स्थानबाट चितवन जिल्ला हुँदै सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारी साधनहरुलाई व्यस्थित गराउने र यात्रुहरुलाई सजिलै सेवा दिन एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसको सहयोगमा चितवन ट्राफिकले यात्रु कक्षको स्थापना गरेको संस्थाका निर्देशक डिल्लीराम अधिकारीले बताउनुभयो ।
यात्रु सहायता कक्षबाट अवान्छित क्रियाकलाप रोक्न सहयोग पुग्ने बताउनुहुन्छ प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ । दसैँको समय हुने अस्वस्थ्य प्रतिस्पर्धालाई नियन्त्रण गर्न र यात्रु नठगिने प्रशासन चनाखो रहेको उहाँको भनाइ छ ।
भाडा बढि लिने, सिट क्षमता भन्दा बढी यात्रु राख्ने, आरक्षण सिट व्यवस्थापन भए नभएको र भाडा लिष्ट टाँस गरे नगरेको सम्पुर्ण अनुगमन गर्ने र नियम विपरीत गर्नेलाई कारवाही गर्ने ट्राफिक प्रहरीले जनाएको छ । कुनै गुनासो भए सिधै यात्रु सहायत कक्षमा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ ।
यात्रु सहायता कक्षसँगै दसैँ देखि छठ पर्वसम्मलाइ लक्षित गरेर चितवन प्रहरीले विशेष सुरक्षा योजना बनाएर लागू गरेको बताउनुहुन्छ चितवन प्रहरीका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारी ।
यात्रा जति सुरक्षित र सहज हुन्छ त्यतिनै दसैँ आएको रौनकताले मानिसहरुलाई छुन्छ । अझैपनि यातायातका चालक सहचालकले गर्ने व्यवहारले यात्रुहरुलाई हैरानी त बनाउँछ नै दिक्क लाग्दो समेत । त्यसैले यात्रु र सवारी चालक दुवै अनुशासित भइदिए समस्याको समाधान त्यहीँबाट हुन्छ । सुखद यात्राको सवैलाई हार्दिक शुभकामना ।
प्रतिक्रिया दिनुहोस्