
काठमाडौं । महोत्तरी र बैतडीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । हिजो साँझ भएको दुर्घटनामा महोत्तरीमा दुई जना र बैतडीमा एक जनाको मृत्यु भएको हो ।
महोत्तरीको बर्दिबास नगरपालिका–४ मा दुई ओटा मोटरसाइकल आपसमा ठोक्किदा सर्लाहीको ईश्वरपुर नगरपालिका १ का २८ वर्षीय विजयकुमार महतो र महोत्तरीको बर्दिबास नगरपालिका ३ गौरीडाँडाका २७ वर्षीय सुरज तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
महतोको मृत्यु शुभ स्वस्तिक अस्पताल बर्दिबासमा र तामाङको मृत्यु रामजानकी अस्पतालमा भएको हो । दुर्घटनामा घाइते भएका एक जनाको राम जानकी अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी बैतडीको दोगेडा केदार गाउँपालिका ३ तारल नजिकै ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दार्चुलाको गोकुलेश्वरबाट सतबाँजतर्फ जाँदै गरेको नम्बर खुल्न नसकेको ट्याक्टर गएराति साढे १ बजे अनियन्त्रित भएर सडकबाट एक सय मिटर तल खसेको थियो ।
दुर्घटनामा बैतडीको डिलासैनी गाउँपालिका ३ का २३ वर्षीय योगेश पालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्