
एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना महामारीको कारण पत्ता लगाउने अन्तिम मौका रहेको बताएको छ ।
डब्लुएचओले हालै गठन गरेको २६ सदस्यीय विज्ञ समूहका लागि कोरोनाको उत्पति पत्ता लगाउने अन्तिम मौका हुने जनाएको हो ।डब्लुएचओले गतवर्षदेखि नै चीनको वुहान सहरबाट सुरु भएको कोरोना महामारीको कारणबारे अध्ययन गरिहेको जनाएको छ ।
डब्लुएचओलगायत विभिन्न संस्थाहरुले कोरोना भाइरस उत्पतिको कारणबारे लामो समयदेखि अध्ययनको प्रयास जारी राखेपनि चीनले पर्याप्त सहयोग नगरेको आरोप लगाउँदै आएका छन् ।
वुहान सहरबाट कोरोना फैलिएको पुष्टि भएपनि त्यसको कारण भने अझै अस्पष्ट छ । कतिपयले वुहानमा रहेका प्रयोगशालाबाट कोरोनाको जिवाणु मानिसमा सरेको जनाएपनि त्यसको आधिकारीक पुष्टि हुन सकेको छैन ।
गत फेब्रुअरीमा डब्लुएचओको टोली चीन गएपनि सरकारको पर्याप्त सहयोग नभएकाले अपेक्षा अनुसार अनुसन्धान गर्न नसकेको जनाएको छ । डब्लुएचओका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले चीनले पर्याप्त सहयोग नगर्दा अनुसन्धानमा बाधा परेको गुनासो गर्नुभयो ।
डब्लुएचओले चीनमा कोरोना भाइरसबाहेक अन्य उच्च जोखिमयुक्त रोगका बारेमा पनि अनुसन्धान गर्ने जनाएको छ । चीनले सहयोग गरे कोरोनाको उत्पतिका बारेमा अध्ययन गर्ने ठूला मौका मिल्ने डब्लुएचओको ठहर छ ।
प्रतिक्रिया दिनुहोस्