
धनकुटा । धनकुटा नगरपालिकामा मात्रै बसोबास रहेको आठपहरीया समुदायले दसैँ मान्दैनन् ।
फरक संस्कृति रहेका आठपहरियाले राणाकालमा दसैँ मान्न जारी गरिएको उर्दी नमानेका कारण मारिएका रामलिहाङ र रिदामा आठपहरियालाई देशको पहिलो सांस्कृतिक सहिद घोषणा गर्न उनीहरुले माग गरेका छन् ।
मुलुकमा रहेका अन्य जातजाति भन्दा भिन्न संस्कृति रहेका आठपहरिया समुदायलाई राणाकालमा शासकहरुले मान्ने संस्कृति लाद्न खोजिएपछि विद्रोह भएको आठपहरिया समाजका केन्द्रीय महासचिव सूर्य आठपहरियाले बताउनुभयो ।
आफ्नो संस्कृति रक्षा गर्न विद्रोह गरेका रामलिहाङ र रिदामा आठपहरियालाई १९३३ सालमा झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो । धनकुटाको चुलिवन नजिकै रहेको झुण्डगाउँ राणाकालमा मानिस झुण्ड्याएर मार्ने ठाउँ भएकाले यो ठाउँको नाम झुण्डगाउँ राखिएको हो ।
चुलिवनलाई सहिद रामलिहाङ र रिदामा स्मृति पार्क घोषणा गरिएकोे छ । धनकुटामा करिब ६ हजारको हाराहारीमा आठपहरिया समुदायको बसोबास छ ।
प्रतिक्रिया दिनुहोस्