
भरत शर्मा
पाल्पा । कोरोना महामारीका कारण पाल्पामा पर्यटक आवागमन बन्द भएपनि पर्यटकीय पूर्वाधार निर्माणका काम भने धमाधम भइरहेका छन् । लुम्बिनी प्रदेश सरकारले पाल्पालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने योजनाका साथ तानसेनको कैलाशनगर र तिनाउँको नुवाकोटमा खुला सांस्कृतिक डबली निर्माण गरेको छ ।
तानसेनको श्रीनगर सांस्कृतिक डबली ६ करोड ८० लाख रुपैयाँमा प्रतिष्ठा कन्ट्रक्सन प्रालिकाठमाडाैंले निर्माण गरेको हो भने तिनाउ गाउँपालिकाको नुवाकोटमा निर्माण भइरहेको सांस्कृतिक डबली तीन करोड ८४ लाखमा धुलिखेल निर्माण सेवाले काम गर्दै आएको छ । दुवै स्थानमा निर्माण भइरहेको खुला सांस्कृतिक डबली निर्माण कार्य अन्तिम चरणमा पुगेको र अवको दुई महिनाभित्र सम्पूर्ण निर्माण कार्य सकिने निर्माण व्यवसायीले बताएका छन् ।
अहिलेसम्म निर्माणको ९० प्रतिशत काम सकिएको र अन्तिम फिनिसिङ्गका कामहरु भइरहेको निर्माण व्यवसायीका कम्पनी प्रतिनिधी दिपक बहादुर पालले बताउनु भयो ।नुवाकोट डबलीमा २ सय ५० जना र कैलाशनगरको डबलीमा पाँचसय जना अट्ने क्षमता रहेको छ । खुला सांस्कृतिक डवली नेपालमै नमुना सांस्कृतिक डवलीको रुपमा निर्माण गरिएको हो ।
पर्यटक बढ्ने विश्वासका साथ सदरमुकाम तानसेनमा सुविधा सम्पन्न होटलहरु पनि थपिँदै गएका छन् । सांस्कृतिक डवलीको निर्माणसँगै पर्यटकको आगमन बढ्ने होटल श्रीनगर प्रा.लि.का म्यानेजर अशोक थापाको भनाइ छ ।
भारतीय नाका सुनौलीबाट ३० किलोमिटर र बुटवलबाट ५ किलोमिटरको दुरीमा रहेको पाल्पा तिनाउ नुवाकोटमा निर्माण भइरहेको सांकृतिक डबलीले यस क्षेत्रकै कला संस्कृतिको जर्गेना गर्नेछ । अंग्रेज युद्धमा नेपालले निर्माण गरेका युद्धका गढीहरू, भैरव मन्दिरसंगै ऐतिहासिक सम्पदाहरूको विकास तथा प्रचारप्रसार भई पर्यटन विकासमा थप टेवा पुग्ने तिनाउ गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्तीमगरले बताउनु भयो ।
पाल्पालाई लुम्विनी प्रदेशकै पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न निर्माण भइरहेको खुला सांस्कृतिक डबलीले पक्कै पनि टेवा पुग्नेछ भने पर्यटकहरुले अब पाल्पा घुम्ने क्रममा नयाँ अनुभव लिन पाउने छन् ।
प्रतिक्रिया दिनुहोस्