१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


समन्वयको अभावमा नेपालकै सबैभन्दा ठूलो फलाम खानी सञ्चालनमा आउन सकेन


0
Shares

बिबेक भण्डारी

नवलपुर । नवलपुरको हुप्सेकोट गाउँपालिकास्थित पूर्व–पश्चिम राजमार्गको कावासोतीबाट झण्डै २० किलोमिटर उत्तरमा रहेको फलाम खानी अझै सञ्चालनमा आउन सकेको छैन् । होप्सेकोटको नाम्जाकोटदेखि पूर्वमा धौवादी क्षेत्रसम्म एक सय ६० वर्गकिलोमिटर क्षेत्रफलमा फलामको कच्चा पदार्थ फैलिएकोे छ । प्रारम्भिक अध्ययनले झण्डै सात करोड टन कच्चा पदार्थ रहेको देखाएको छ ।

अहिले फलामखानी उत्खनन्, यसको परिक्षणलगायत सबै काम धोवादी फलाम खानी कम्पनी लिमिटेडले हेर्दै आएको छ । गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेले फलाम खानी गाउँपालिकामा रहेको र यसको रेखदेख स्थानीयहरुले गरि रहेको भए पनि खानी उत्खनन् र यसको योजनाका विषयमा गाउँपालिका बेखबर रहेको बताउनुभयो ।

उहाँले खानीमा गाउँपालिकाको पनि अधिकार भएको हुदा गाउँपालिकासंग समन्वय गरेर अगाडि बढ्ने हो भने उत्खनन्को कार्यमा स्थानिय सरकारको पनि सहयोग रहने र यसले तिब्र गति लिने गाउँपालिका प्रमुम लक्ष्मी पाण्डेको भनाई छ ।

सरकारले अघिल्लो आर्थिक वर्ष २०७६÷०७७ को बजेटमार्फत नवलपुरमा रहेको धौवादी फलाम खानी उत्खनन् गर्ने नीति बनाएको र सोही अनुसार सरकारकै मातहतमा रहनेगरी धौवादी फलाम खानी कम्पनी लिमिटेड स्थापना पनि भयो। २०७६ फागुनदेखि काठमाडौंको लैनचौरमा कार्यालय स्थापना गरेर काम सुरु भएको थियो।

कम्पनी नै स्थापना भए पछि हुप्सेकोटका स्थानियले फलाम खानी उत्खनन् संगै गाउँको पनि विकास हुने आसमा थिए । तर अहिले कम्पनीले खानी सम्म जाने बाटो खन्ने र फलाम खानीको गहिराइमा खन्ने काम बाहेक अरु काम गर्न नसक्दा समस्या बढ्दै गएको छ ।

गाउँमै भेटिएको खानीले गाँउको थप विकास हुने भन्दै हौसीएका स्थानियहरु भने गाउँपालिका र फलाम खानी लिमिटेडको समन्वय नहुदा खानी उत्खनन्मा समस्या आउने हो की भन्ने चिन्तामा छन । खानी उत्खनन्ले हुप्सेकोटको मात्र होइन समग्र देशकै विकासमा टेवा पु¥याउने देखिन्छ । फलाम खानी कम्पनी र गाउँपालिका बिच समन्वय गरि यसको उत्खनन् गरी फलाम उत्पादनमा आत्मनिर्भर हुन सके फाइदा हुने थियो ।