
डोलराज रानाभाट
चितवन । कालिका नगरपालिका १ सुर्यपुरकी तारा तामाङको १ विघा जमिनमा धान मकै खेती हुन्थ्यो । तर केरा खेतीबाट राम्रै आम्दानी हुने आशाले विगत ४ वर्षदेखि उक्त जमिनमा उहाँले मालुवा केरा लगाउदै आउनुभएको छ । केही वर्ष राम्रै आम्दानी दिएपनि अहिले बजारमा भाउ पाउन कठिन भएको उहाँको गुनासो छ ।
भाउ पाउन कठिन भएपछि किसानहरुले भारतबाट आयात हुने केरा रोक्न माग गरेका छन् । कम्तिमा नेपाली उत्पादनको बजार हुने समय रोकिदिएमात्रै पनि किसानलाई फाइदा पुग्ने उनीहरुको भनाइ छ । सोही ठाउँका इश्वरी प्रसाद चापागाईको दुई विघामा केरा खेती छ । तर भारतीय केराले गर्दा आफ्नो उत्पादनले उचित मूल्य नपाएको उहाँको भनाइ छ । यदी सरकारले विशेष चासो दियो भने बेरोजगार हुनेहरुपनि यसतर्फ आकर्षण हुने उहाँको दावी छ ।
किसानहरुले मूल्य नपाएको गुनासो बढेपछि केरा व्यवसायी संघ सक्रिय बनेको छ । संघका महासविच जनकराज पन्तले सरकारलाई पटक पटक भारतीय केराको आयात रोक्न आग्रह गरेपनि सुनुवाई नभएको बताउनुहुन्छ । कार्तिक देखि मंसिरसम्म जी ९ जातको केराले बजार पाउनुपर्ने हो तर बोटमै केरा पक्न थालेपछि किसान आत्तिएका छन् । मालवोउ जातको केराले बढी मात्रामा बजार पाएपनि अन्य जातका केरा बिक्री नहुने समस्या बढ्दै गएको छ ।
चितवनमा करिव २ हजार हेक्टरमा केरा खेती गरिँदै आएको छ । जसमा ७ सय किसान आवद्ध रहेर वार्षिक करिव २ अर्बको हाराहारीमा आम्दानी गर्दै आएका छन् । तर सरकारले आधुनिक कृषि प्रणालीमा जाने भाषण गरिरहदा नेपाली किसानले उत्पादन गरेको केराले उचित मूल्य पाउने वातावरण नहुँदा सरकारी लक्ष्य एकातिर र किसानको व्यथा अर्कोतिर हुने निश्चित छ । त्यसैले सरकारले बेलैमा किसानहरुको माग सुनेर कार्यान्वनय गर्नु जरुरी देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्