
अक्कल कुँवर
काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशन अन्तर्गत वडा र पालिका तहमा युवाको बाक्लो सहभागितापछि पार्टीले नवजीवन पाउने आशा पलाएको थियो ।
तर, अहिलेसम्म १३ जिल्लाको अधिवेशनको लक्षण हेर्दा न त युवाहरूले हस्पक्षेप गर्न सके, न त निर्णायक भूमिका निर्वाह गर्न सकेकै देखियो । जिल्लाको नेतृत्व चयनताका सतहमा आएका युवा पुस्ताको कमजोर भूमिका केन्द्रीय महाधिवेशनमा न हाँस, न बकुल्लाको चाल हुने लक्षण छ ।
आसन्न महाधिवेशनमा नेतृत्वका आकांक्षीहरू ७० वर्ष उमेर समूहका नेताको बाहुल्य छ । समग्रमा हेर्दा कांग्रेसभित्र ६५ वर्षमाथि उमेर समूहका नेताहरू नै कार्यकारी पदमा छन् । १३ वटा हिमाली जिल्लाको अधिवेशन सम्पन्न भइसक्दा अपवाद बाहेक पुरानै पुस्ताका अनुहार नेतृत्वमा दोहोरिएका छन् ।
स्थानीय तहमा देखिएको युवा सहभागिताले जिल्ला नेतृत्व चयनमा प्रभाव देखाउन नसकेपछि केन्द्रीय नेतृत्व परिवर्तनमा आशाको त्यान्द्रो झिनो बन्दै गएको अवस्था छ । हुन त, स्थानीय तहमा देखिएको युवा सहभागिताकै कारण युवा नेताहरूले पनि नेतृत्वको आकांक्षा देखाएका छन् ।
त्यसो त कतिपय युवा पुस्ताका नेताहरूले केन्द्रीय पदाधिकारीमा उम्मेद्वारी घोषणा गरिसकेका छन् । तल्लो तहमा युवा सहभागिता स्वाभाविक भए पनि जिल्लादेखि केन्द्रीय निकायमा पुरानै पुस्ताको नियन्त्रण रहने देखिएको राजनीतिक विश्लेषक प्रा.डा. गोविन्दमानसिंह कार्की बताउनुहुन्छ ।
कांग्रेसले आसन्न महाधिवेशनलाई लक्षित गरी ९ लाख बढी क्रियाशील सदस्य बनाएको छ । तीमध्ये आधा बढी नयाँ हुन् । लामो समयदेखिको क्रियाशील सदस्यता विवादको रडाको अहिले पनि कायमै छ । क्रियाशील सदस्यता बढाउँदैमा र युवा सहभागिता बढ्दैमा पार्टीमा तात्विक भिन्नता नपर्ने युवा नेता लोकेश ढकाल बताउनुहुन्छ ।
क्रियाशील सदस्य विवादकै कारण १३ जिल्लामा अझै अधिवेशन प्रक्रिया सुरु हुन सकेको छैन । नेतृत्वका आकांक्षीहरूमा पार्टीलाई पुर्नजीवन दिने भन्दा नेतृत्वमा पुग्ने मनसाय हावी देखिएको छ भने व्यक्तिगत स्वार्थपूर्तिको लागि युवा सहभागिताको विषय उठाएको जिल्ला नेतृत्व चयनबाट पुष्टि हुन थालेको छ ।
प्रतिक्रिया दिनुहोस्