२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


टी–२० विश्वकप क्रिकेट : आयरल्याण्डद्वारा नेदरल्याण्ड ७ विकेटले पराजित


0
Shares

काठमाडौं । आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट अन्तर्गत सोमबार भएको पहिलो खेलमा आयरल्याण्डले नेदरल्याण्डलाई ७ विकेटले पराजित गरेको छ ।

फस्ट राउण्ड अन्तर्गत समूह ‘ए’को खेलमा नेदरल्याण्डले दिएको १ सय ७ रनको लक्ष्य आयरल्याण्डले २९ बल बाँकी छँदै ३ विकेटले गुमाएर भेट्टायो । उसका लागि पल स्ट्रिलिङले नटआउट ३० रन बनाउँदा ग्यारेथ डेलानीले ४४ रनको योगदान गरे ।

नेदरल्याण्डका ब्रान्डन ग्लोभर, फ्रेड क्लासेन र पिटर सीलारले एक–एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेदल्याण्डले निर्धारित ओभरमा पूरै विकेट गुमाएर १ सय ६ रन बनायो । उसका लागि म्याक्स ओ डाउडले ५१ रन बनाएर अर्धशतकीय पारी खेले ।

कप्तान पिटर सिलार २१, कोलिन एकरम्यान र लोगन भान विकले समान ११ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । आयरल्याण्डका कुर्टिन्स क्याम्फेरले ४, मार्क एडरले ३ तथा जोश लिटले एक विकेट लिए ।

जितसँगै आयरल्याण्ड पहिलो राउण्डको समूह ‘ए’को शीर्ष स्थानमा पुगेको छ । यसै समूह अन्तर्गतको अर्को खेलमा अहिले केहीबेरमा श्रीलंका र नामिबिया भिड्नेछन् ।

आइतबार भएको पहिलो राउण्ड समूह ‘बी’ अन्तर्गतका खेलहरूमा ओमानले पपुवा न्यूगिनी तथा स्कटल्याण्डले बंगलादेशलाई पराजित गरेका थिए ।

समूह ‘ए’ र ‘बी’मा भएका आठ देशमध्ये दुवै समूहको अंकतालिकामा पहिलो र दोस्रो आएका चार देशले ‘सुपर १२’ मा स्थान बनाउनेछन् । सुपर १२ का खेलहरू २३ अक्टोबरदेखि हुनेछ । यस वर्षको टी–ट्वेन्टी विश्वकप ओमान र संयुक्त अरब इमिरेट्स (युएई)मा भइरहेको छ ।