
काठमाडौं । राष्ट्रिय गौरवको आयोजना निजगढ–काठमाडौं द्रुतमार्ग निर्माण अवधि सकिन २ वर्ष मात्रै बाँकी छँदा जम्मा १६ प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।
नेपाली सेनाले काठमाडौं र तराई जोड्ने द्रुत मार्ग २०७४ सालमा ४ वर्षभित्र सक्ने गरी जिम्मा लिएको थियो । तर, हालसम्म जम्मा १६ दशमलव १ प्रतिशत मात्रै काम भएको जनाएको हो । १८ अर्ब बढी खर्च भइसकेको यो आयोजनामा खोकना क्षेत्रमा स्थानीयसँगको विवाद अझैसम्म पनि पूर्ण रूपमा समाधान हुन सकेको छैन ।
मुलुककै आर्थिक समृद्धिको अनुपम नमुना बन्ने गौरवको आयोजना निर्माणको गतिलाई जग्गा अधिग्रहणको विवाद, मुद्दा, सरकारी नीति नियमको उल्झनले सुस्त बनाएको सेनाको दाबी छ । अनुमानित लागत १ सय ७५ अर्ब रुपैयाँ रहेको यो परियोजनाको हालसम्म सडक निर्माणका लागि माटो कटिङ र फिलिङको काम ८८ प्रतिशत सकिएको सेनाले जनाएको छ ।
डीपीआरमा उल्लेख भए अनुसार नेै सेनाले द्रुतमार्गमा ३ वटा सुरुङमार्ग र ८० वटा पुलहरू अन्तर्राष्ट्रिय परामर्शदाताको सुझावको आधारमा निर्माण अघि बढाएको जनाएको छ । ७२ किलोमिटर लामो यो मार्गका लागि २०६७ सालमा सेनाले नै ट्य्राक खोल्ने काम गरेको थियो । पछि निर्माण व्यवस्थापनको जिम्मा पनि सेनाले नै पाएको हो ।
चार लेन सडकको ५३ किमि क्षेत्र मकवानपुरमा, ४ किमि काठमाडौंमा, ललितपुरमा ७ दशमलब ९ र बारामा ७ दशमलब ६ किमि पर्छ । निर्माणको काममा सेनाले पुल र सुरुङमार्गको ठेक्काका लागि भने अन्य कम्पनीलाई छनोट गरेको छ । सडक सञ्चालनमा आएपछि एक घण्टामा काठमाडौं–बारा आउजाउ गर्न सकिने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्