
कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा सुवेदीले महाकाली नदीमा आएको बाढीले पुर्याएको क्षतिको अवलोकन गर्नु भएको छ ।
तटीय क्षेत्रमा क्षति गर्न थालेपछि कानुनमन्त्री सुवेदी, सामाजिक विकास मन्त्री लालबहादुर खड्कालगायत सुरक्षा निकायका प्रमुखले अवलोकन गरेका हुन् । तीन दिनदेखि लगतार परेको वर्षाका कारण महाकाली नदीमा आएको बाढीले तटीय क्षेत्र डुवानमा परेको छ ।
जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले अहिले महाकाली नदीमा पानीको बहाव पाँच लाख दुई सय क्यूसेक नाघेको जनाएको छ । यो अहिलेसम्मकै उच्च बहाव हो । महाकाली नदीको बाढीका कारण भीमदत्त नगरपालिका– ९ को खल्लामछेट्टीमा ६ घरपरिवार विस्थापित भएका छन् । घरमा बाढी पसेपछि ६ जनाले रुखमा चढेर ज्यान जोगाएका छन् ।
रुख चढेकाहरूको हेलिकप्टरबाट उद्धार गर्ने प्रयास भइरहेको छ । भीमदत्त नगरपालिकाकै ११, १२ र १३ नम्बर वडा पनि डुवानमा परेका छन् भने दोधारा चाँदनी नगरपालिकाको ८, ९ र १० बाढीको जोखिममा परेका छन् । जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
महाकाली नदीको बाढीले निमार्णाधिन चारलेन पक्की पुलको पहुँच मार्ग र पिच रोड समेत कटान गरेपछि बाढी बस्तीमा पस्न सक्ने खतरा समेत बढेको छ ।
प्रतिक्रिया दिनुहोस्