२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


टी–२० विश्वकपमा स्टकल्याण्डको लगातार दोस्रो जित


0
Shares

काठमाडौं । टी–२० विश्वकपमा स्कटल्याण्डले लगातार दोस्रो जित हात पारेको छ । मंगलबार ओमानमा भएको खेलमा पपुवा न्यूगिनीलाई १७ रनले हराउँदै स्कटल्याण्डले दोस्रो जित निकालेको हो ।

स्कटल्याण्डले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको पपुवा न्यूगिनीले १९ ओभर ३ बलमा सबै विकेट गुमाएर १ सय ४८ रन मात्र बनाउन सक्यो । उसका नोर्मन भनुआले सर्वाधिक ४७ रन बनाए । स्कटल्याण्डका जोश डेभीले ४ विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको स्कटल्याण्डले २० ओभरमा सबै विकेट गुमाएर १६५ रन बनाएको थियो । उसका लागि रिची बेरिङटनले ७० रन जोडे भने म्याथु क्रसले ४५ रन बनाए ।

कालम म्याकलियोडले १० रन बनाउनु बाहेक अरुले दोहोरो अंक जोड्न सकेनन् । पपुवा न्यूगिनीका अबुआ मोरियाले ४ र चाड सोपरले ३ विकेट लिएका छन् ।

जितसँगै स्कटल्याण्डले दुई खेलमा चार अंक बनाउँदै अंकतालिकाको शीर्ष स्थानमा छन् । योसँगै उसले सुपर १२ मा स्थान बनाउन सहज भएको छ ।