१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


महाकाली नदी बस्तीमा छिर्नबाट बच्यो


0
Shares

कञ्चनपुर । महाकाली नदीमा बाढीले पक्की सडक कटान गरेपछि बस्तीमा छिर्ने खतरा बढेपछि स्थानीयले सो क्षेत्रमा तटबन्ध गर्न सुरु गरेका छन् ।

आइतबारदेखिको अविरल वर्षाका कारण आएको बाढीले सोमबार रातीबाट नै निर्माणाधिन ६ लेनको पक्की सडक कटान गर्न सुरु गरेको थियो । तर त्यसको रोकथामका लागि जिल्लास्थित सरोकारवाला निकाय मौन बसेपछि स्थानीयले आफ्नै पहलमा नदी रोकथामका लागि तारजाली भर्ने काम सुरु गरेका हुन् ।

बुधबार बिहानसम्म महाकाली नदीले चार लेनको पक्की सडकसँगै पासिङ्का लागि बनाइएको ग्राभेल सडक समेत कटान गरिसकेको थियो । जसले गर्दा नदी बस्तीमा पस्ने लगभग निश्चित भइसकेको थियो ।

स्थानीय कृष्ण सिंह साउँदले नदीलाई बस्तीमा पस्नबाट रोक्न सकिने भन्दै आफैले तारजाली मगाएर कटान भइरहेको ठाउँमा जाली भर्न लगाएसँगै नदी बस्तीमा पस्ने खतरा टरेको छ ।

यस्तै, गएराती दोधारा चाँदनी क्षेत्रमा समेत महाकाली नदीले तटबन्ध भत्काउन थालेपछि साउँदकै पहलमा स्थानीयले सो क्षेत्रमा पनि तारजाली भरेर बाढीलाई बस्तीमा पस्नबाट रोकेका थिए ।

बाढी बस्तीमा पसेपछि भीमदत्त नगरपालिकाको वडा नम्बर ११, १२ र १३ का झण्डै चार सय बढी घर परिवार विस्थापित हुन आँकलन गरिएको थियो । तत्कालका लागि बाढीलाई बस्तीमा पस्नबाट रोकिएपनि नदीमा पानीको बहाव घटेसँगै कटान गर्ने क्रम बढीरहेकाले स्थानीय सरकार तथा सरोकारवाला निकायले पनि त्यसका लागि पहल गर्नुपर्ने स्थानीयको भनाई छ ।