१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


राष्ट्र बैंकले फिर्ता गरायो बैंकहरूले बढाएको व्याज, तीन बुँदे निर्देशन जारी


0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले बढाएको व्याज फिर्ता गराएको छ ।

राष्ट्र बैंकले मंगलबार राति तीन बुँदे निर्देशन जारी गर्दै बढेको निक्षेपको व्याजदर फिर्ता गराएको हो । कात्तिक १ गतेबाट केही बैंकले व्याजदर बढाएर ११ प्रतिशतमाथिसम्म प्रकाशित गरेका थिए । निजी क्षेत्रका संगठनहरूले व्याज वृद्धिप्रति राष्ट्र बैंकको ध्यानाकर्षण गराउँदै आएका थिए ।

हिजोमात्र उद्योग संगठन मोरङले बजारमा तरलता अभावको कारण देखाउँदै गरिएको व्याजदर अबिलम्ब पुनरावलोकन गरी एकल अंकमा नबढ्ने गरी निर्धारण गराउन संगठनले केन्द्रीय बैंक समक्ष माग गरेको थियो । व्याजदर बढ्नुमा मौद्रिक नीतिमा गरिएको सिडी अनुपातको व्यवस्था नै मुख्य कारक भन्दै यसलाई परिमार्जन गर्न पनि संगठनले राष्ट्र बैंक समक्ष आग्रह गरेको छ ।

राष्ट्र बैंकको पछिल्लो निर्देशनमा अबदेखि जुनसुकै निक्षपको व्याज निर्धारण गर्दा अघिल्लो महिनाको भन्दा बढिमा १० प्रतिशतले मात्र परिवर्तन गर्न पाइने व्यवस्था गरिएको छ । संस्थागत मुद्दती निक्षेपकर्ताले पाउने व्याज अब सर्वसाधारणले पाउनेभन्दा कम हुने भएको छ ।

यो व्यवस्था बुधबारबाटै लागू हुने छ । बैंकहरूले यस महिनाको व्याजदर आज निर्धारण गर्नेछन् । यस्तै, संस्थागतको व्याज व्यक्तिगतको भन्दा एक प्रतिशत विन्दु कम निर्धारण गर्नुपर्ने पनि निर्देशनमा व्यवस्था गरिएको छ ।