२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


गठबन्धन छिट्टै चकनाचुर हुन्छ, सरकारले विदेशीसामु घुँडा टेक्यो– ईश्वर पोखरेल


0
Shares

प्रदिप पौडेल
पोखरा । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले देउवा नेतृत्वको गठबन्धन छिट्टै चकनाचुर हुने बताउनुभएको छ ।

एमाले कास्कीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले गठबन्धन मुलुकको आर्थिक विकास र समृद्धिलाई रोक्नको लागि बनेको आरोप लगायनुभयो ।

अराजकतालाई बढावा दिन गठबन्धन बनेको भन्दै त्यसविरुद्ध एमाले दृढतापूर्वक उभिने उहाँले बताउनुभयो ।

महासचिव पोखरेलले मुलुकलाई राजनीतिक स्थायित्व दिनका लागि एमाले बाहेक अन्य विकल्प नरहेको तर्क गर्नुभयो । साथै एमाले राष्ट्रिय स्वाभिमानको विषयमा कहिल्यै पछि नहट्ने बताउनुभयो ।

उहाँले माधवकुमार नेपाल लगायतका नेताहरूलाई अवसरवादको खेती गरेको आरोप लगाउनुभयो । उहाँले राजनितिक रुपमा अक्षम्य अपराध गर्नेहरू समाप्त हुने ठोकुवा गर्नुभयो ।

महासचिव पोखरेलले देउवा सरकारलाई विदेशी सामु घुँडा टेकेको भन्दै आलोचना गर्नुभयो । ‘वर्तमान पाँच दलीय गठबन्धन विदेशी सामु घुँडा टेक्नेहरूको गठबन्धन हो,’ उहाँले भन्नुभयो, ‘राष्ट्रिय स्वाधिनता, समृद्धि र यसको बाहक एमाले विरुद्धको गठबन्धन हो ।’

महासचिव पोखरेलले आफ्नो पार्टी नेतृत्वको सरकारले गरेका राम्रा कामलाई देखाएरै एमालेले आगामी निर्वाचनमा बहुमत ल्याउने दाबीसमेत गर्नुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशका निर्वतमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पार्टी महाधिवेशनले विवादलाई एमालेलाई एक बनाउने ठोकुवा गर्नुभयो ।