
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बाढी, पहिरो र डुवानले भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारमा समवेदना प्रकट गर्नुभएको छ ।
बिहीबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले विपद्को दुःखद् घडीमा प्रकोप पीडितहरूको उद्धार तथा व्यवस्थापन, घाइतेहरूको उपचार, राहत वितरण र वेपत्ता भएकाहरूको खोजीकार्यमा राज्यका संयन्त्रहरूलाई परिचालित गराउन सरकारको ध्यान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
यसैगरी प्रकोपबाट कृषि क्षेत्र खासगरी धान बाली र विविध भौतिक पूर्वाधारको विनाशको सन्दर्भमा राहत, क्षतिपूर्ति र पुनर्निर्माण सम्बन्धमा समन्वयात्मक रूपमा अघि बढ्न आग्रह गर्नुभएको छ ।
प्राकृतिक प्रकोपबाट उत्पन्न दुःखको अवस्थामा सम्पूर्ण राजनीतिक दल, सामाजिक संघसंस्था र समुदायलाई आवश्यक समन्वय र सहकार्यसहित पीडितहरूको उद्धार तथा राहत कार्यमा संलग्न हुन हार्दिक आव्हान गर्नुभएको छ ।
साथै, भण्डारीले भविष्यमा आइपर्ने यसप्रकारका प्राकृतिक प्रकोपबाट बच्न सम्बद्ध सबै पक्षले सावधानी अपनाउनुपर्ने बताउनुभएको छ ।
चारदिनदेखि भएको अविरल वर्षाले देशभर ८८ जनाको मृत्यु भएको छ भने ३० जना बेपत्ता भएका छन् । यस्तै २० जना घाइते भएको गृह मन्त्रालयको विपद तथा द्वन्द्व व्यवस्थापन महाशाखाकी प्रमुख हुमकला पाण्डेले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्