
बाजुरा । असोज ३१ गते देखि आएको बेमौसमी वर्षासँगै जुड्डी खोलामा आएको बाढीले जगन्नाथ गाउँपालिकाको कार्यालय नै बगाएको छ ।
निरन्तर वर्षाले खोलामा बाढी बढ्नुका साथै जमिन कटान गरेपछि गाउँपालिकाको कार्यलय क्षतविच्छेद भएको गाउँपालिकाका सूचना अधिकारी राजेन्द्र जोशीले जानकारी दिनुभयो । कार्तिक २ गते दिउँसो अविरल वर्षातका कारण जगन्नाथ गाउँपालिकाको वडा नं २ र ३ को सीमानामा पर्ने जुड्डी खोलामा बाढी आएको थियो ।
बाढीले जगन्नाथ गाउँपालिकाको कार्यालय भवनका १४ वटा कोठा, कर्मचारी आवासका १४ कोठा, प्रहरी चौकीका ७ कोठामा पूर्ण क्षति पुगेको रोजगार संयोजक लक्ष्मण जोशीले बताउनुभयो । पाँच शय्याको अस्थायी कोरोना अस्पताल गाउँपालिकाको सभाहल पनि बगाएको छ ।
कार्यालयमा फर्निचर, औषधि, उपकरण, कम्प्युटर, डेस्कटप, ल्यापटप, सोलार, ब्याट्री, कार्पेट, लुगाकपडा, गाउँपालिकाको खेल मैदान, जुड्डी खोला लघु जलविद्युत् योजनाको तार पोल र महान खोलाले बगाएर क्षतविच्छेद गरेको छ । गाउँपालिका कर्णाली र जुड्डी खोलाको उच्च जोखिममा बनेको छ ।
कार्यालय क्षतविच्छेद भएसँगै गाउँपालिकाबाट हुने काम पूर्ण रूपमा प्रभावित बनेको सूचना अधिकारी जोशीले बताउनुभयो । पहिरोका कारण केही समय कर्णाली नदी पनि थुनिएको थियो ।
प्रतिक्रिया दिनुहोस्