
मनिष गुप्ता
कपिलवस्तु । जिल्लाको कृष्णनगरमा गत असोज १८ गतेबाट फैलिएको हैजा अझै नियन्त्रणमा आउन सकेको छैन । अस्पतालमा चिकित्सकको अभाव भएपछि हैजा नियन्त्रणमा आउन नसकेको हो ।
हैजाको प्रकोप फैलँदा पनि कृष्णनगरको शिवराज अस्पताल एक जना मात्र चिकित्सकले भरमा चलेको छ । अहिले पनि दैनिक ३० जना हैजाका बिरामी अस्पतालमा आउने गरेको अस्पतालका चिकित्सक डा. मुकेश चाैधरी बताउनुहुन्छ ।
दूषित पानीका कारण प्रकोप फैलिएको भनिए पनि त्यसको नियन्त्रणमा जनस्वास्थ्य कार्यालयले चासो नदेखाएको स्थानीयको आरोप छ । कृष्णनगरमा फैलिएको हैजाका कारण अहिलेसम्म पाँच जनाको मृत्यु भएको जनस्वास्थ्यको तथ्याङ्क छ ।
तर, स्थानीय भने जनस्वास्थ्य कार्यालयले मृतकको तथ्याङक लुकाएको आरोप लगाउँछन् । प्रकोप नियन्त्रण गर्न नसकेको जनस्वास्थ्य कार्यालयले आफ्नो कमजोरी लुकाउन मृतकको सङ्ख्या घटाएको उनीहरूको आरोप छ ।
चिकित्सकको अभावका कारण प्रभावकारी सेवा दिन सकेको छैन । अहिलेकै ढंगले विरामीको संख्या बढ्दै जाँदा औषधिको अभाव हुनसक्ने डा. चाैधरीकाे चेतावनी छ ।
स्वास्थ्य मन्त्रालयले कपिलवस्तुमा फैलिएको हैजा हप्ता दिनमा नियन्त्रणमा आएको विज्ञप्ति निकालेको थियो । तर, तीन हप्ता पुग्नै लाग्दा पनि कृष्णनगरमा फैलिएको हैजा नियन्त्रणमा आउन सकेको छैन ।
सरकारको आलोचना हुने भयले विज्ञप्ति निकाल्ने मन्त्रालयले अस्पतालमा चिकित्सकको व्यवस्था गरिदिए प्रकोप नियन्त्रणमा आउथ्यो कि ?
प्रतिक्रिया दिनुहोस्