१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कात्तिक १० गतेसम्म लम्ब्याइयो शाक्य सरकारको आयु


0
Shares

श्रीराम अर्जुन
हेटौंडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारको आयु कात्तिक १० सम्म लम्ब्याइएको छ । अल्पमतमा परिसकेको अवस्थामा मुख्यमन्त्री शाक्यले विश्वासको मतसम्बन्धी छलफल गर्दै मतदान नगरी बैठक सारिएको हो ।

प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको अर्को बैठक कार्तिक १० गते बस्ने गरी बिहीबारको बैठक स्थगित गर्नुभएकाे छ । मुख्यमन्त्री शाक्यले पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल गर्दै बाँकी प्रक्रिया १० गतेसम्मका लागि सारिएको हो ।

प्रस्तावमाथिको छलफलमा बोल्दै मुख्यमन्त्री शाक्यले आफूलाई सहयोग गर्न सबै दललाई आग्रह गर्नुभयाे । उहाँले प्रदेश सरकारले गरेका कार्यक्रम तथा योजनाबारे सभामा प्रस्तुत गर्नुभयो । संवैधानिक व्यवस्थाअनुसार नै आफू विश्वासको मत माग्न उपस्थित भएको स्पष्ट पार्दै उहाँले राजनीतिक दलहरू कमजोर र विभाजित हुँदा लोकतन्त्र नै संकटमा पर्ने बताउनुभयो ।

यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का नेता शालिकराम जम्कट्टेलले बागमती प्रदेशको अबको मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे रहेको प्रस्ताव सभामा जानकारी गराउनुभयो । नेता जम्कट्टेलले पाण्डे अबको मुख्यमन्त्री बन्ने गठबन्धनको सहमति रहेको बताउनुभयो । उहाँले अहिलेको सरकारका मन्त्रीहरूमा पीडाबोध जस्तो महशुस भएको र मुख्यमन्त्रीमा पनि उर्जा नभएको जस्तो देखिएको भन्दै कटाक्ष गर्नुभयो ।

संसदको बैठक सार्न सभामुख र सचिवालयलाई आग्रह गर्न पाइने भए पनि मिति तोकेर पत्र पठाउनू संसदीय मान्यताविपरीत भएको सांसद जम्कट्टेलले बताउनुभयो । मिति तोकेर बैठक माग गरेकोमा उहाँले आपत्ति जनाउनुभयो । विश्वासको मत प्रक्रियामा आफ्नो दलको तर्फबाट शाक्यलाई मत नदिने पनि स्पष्ट पार्नुभयो ।

यसैगरी, नेपाली कांग्रेसका बागमती प्रदेशसभा संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले अल्पमतमा परिसकेको सरकारले भ्रमको राजनीति गर्दै लोभको खेती गरेको आरोप लगाउनुभयो । आफूहरूले व्यवस्था र संविधान रक्षाका लागि गठबन्धन बनाएको स्मरण गराउँदै उहाँले कांग्रेसले मुख्यमन्त्री शाक्यलाई साथ नदिने स्पष्ट पार्नुभयो । गठबन्धनको पक्षमा ५९ जना सांसद पुगिसकेको जानकारी दिँदै उहाँले धेरै अलमल नगर्न पनि आग्रह गर्नुभयो ।

त्यस्तै, नेकपा एकीकृत समाजवादी पार्टीका बागमती प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्रीमा प्रस्तावित राजेन्द्रप्रसाद पाण्डेले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई मार्ग प्रशस्त गर्न आग्रह गर्नुभयो । मुख्यमन्त्री शाक्य अल्पमतमा परेको ३९ दिन भइसकेको स्मरण गराउँदै उहाँले संविधानतः सत्तारुढ दल विभाजन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने पनि सुझाउनुभयो ।

शाक्य अल्पमतमा परेसँगै पाँच दलीय गठबन्धनबाट एकीकृत समाजवादीका राजेन्द्र प्रसाद पाण्डे मुख्यमन्त्री बन्ने भएका छन् । नेपाली कांग्रेस र नेकपा एसबीच आधा–आधा समय सरकार चलाउने सहमति भएको स्रोतले जनाएको छ ।

सभामा सत्तापक्षमा सांसद तथा पूर्व भौतिक पूर्वाधार मन्त्री रामेश्वर फुँयाल, विवेकशील साझा पार्टीका रमेश पौड्याल, जसपाका प्रेम बहादुर तामाङले आफ्ना भनाइ राख्नुभएको थियो ।