१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


आहा ! कन्याम : कोरोनाले सुनसान बनाएको कन्याम दशैं बिदामा भरिभराउ


0
Shares

प्रकाश नेपाल
इलाम । कुनै समय कोरोनाका कारण सुनसान रहेको इलामको सूर्योदय नगरपालिकामा रहेको कन्याममा अहिले पर्यटकले भरिभराउ छन् । सफा मौसम, अनि पर्व बिदाको मौका छोपेर रमाउन आउने पर्यटक आतिथ्यमा कन्याम रमाइरहेको छ ।

झापाको विर्तामोडबाट ४७.२ किलोमिटर उकालो चढेपछि पुगिने कन्याममा बडादशैंको फुलपातीदेखि नै पर्यटकको संख्या बढेको थियो । कोरोनाका कारण लामो समय पर्यटक आवतजावत ठप्प भएको कन्याममा मौसम सफा भएसँगै आन्तरिक तथा बाह्य पर्यटकले खचाखच भएको हो ।

कन्यामबाट दार्जिलिङ हुँदै सिक्किम, कालेङपोङ भएर नेपाल फर्कने र शैक्षिक भ्रमणमा आउने आन्तरिक पर्यटक अधिक आउने गर्दछन् । तराईको गर्मीलाई छलेर कन्यामको हरियाली चिया बगान र चिसो हावापानीमा रम्न पाउँदा पर्यटक खुसी छन् ।

नेपालको तराई र पश्चिमी जिल्लासँगै भारतको पश्चिम बंगालबाट कन्याम घुम्न आउने पर्यटकको संख्या धेरै छ । हरियो चिया बगान, कञ्चनजङ्घा हिमालको दृश्यावलोकन र घोडसवारी गरेर पर्यटक रमाउने गरेका छन् । जाडो महिना लागेसँगै वनभोजका लागि पनि मानिसहरू यहाँ आउने गर्छन् ।

मेची राजमार्गले चिरेको कन्यामको सुन्दरताले वर्षेनी हजारौं आन्तरिक पर्यटकहरुको मन लोभ्याउने गरेको छ । प्राकृतिक रूपमा सुन्दर कन्यामलाई सूर्योदय नगरपालिकाले योजनाबद्ध ढंगले थप सुन्दर बनाउने काम गरेको छ ।