४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025

प्रदेश १ मा आज मुख्यमन्त्री आचार्यको विश्वासको मत प्रस्ताव पेश हुँदै, मतदान भने पर सर्न सक्ने


0
Shares

काठमाडौं । प्रदेश १ मा आज मूख्यमन्त्री भीम आचार्यको विश्वासको मत सम्बन्धि प्रस्तावमा छलफल हुने भएको छ ।

आज दिउँसो १ बजे बस्ने प्रदेशसभाको वैठकमा मुख्यमन्त्री आचार्यले गत असोज २५ गते संसद सचिवालयमा दर्ता गराएको विश्वासको मत सम्बन्धी प्रस्ताव पेश हुने कार्यसूचि रहेको छ ।

बैठकमा प्रस्ताव पेश भएपछि छलफलको प्रकृया शुरु हुने छ । तर आजै प्रस्तावमाथि मतदान हुने नहुने भने निश्चित भईसकेको छैन । सत्तापक्ष मतदानलाई केही दिन पर धकेल्ने पक्षमा छ भने विपक्षी गठबन्धन आजै प्रस्ताव टुंग्याउने कोशिस गरिरहेको छ ।

गत भदौ १० गते मूख्यमन्त्री नियुक्त भएका आचार्यले नेकपा एमाले विभाजन भएपछिको अवस्थामा विश्वासको मत लिने प्रस्ताव दर्ता गराउनु भएको थियो ।

एक महिना भित्र विश्वासको मत लिनुपर्ने भए पनि दशैंको बहाना बनाएर प्रदेश सभाको वैठक नै पर सारिएको थियो । आगामी आइतबार प्रस्तावमाथि मतदान हुने संभावना रहेको छ ।

प्रदेश १ मा हाल एमाले, ४१, नेपाली कांग्रेस २१, एमाओवादी १५, नेकपा एकीकृत समाजवादी १०, जसपा ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका १–१ सांसद रहेका छन् ।