
दुर्गा उपाध्याय
कञ्चनपुर । बेमौसमी वर्षाले आएको बाढीले कञ्चनपुरमा मानवीय क्षति नगरे पनि सात सय बढी परिवार विस्थापित भएका छन् ।
गत आइतबार रातीदेखिको वर्षाले महाकाली तथा दोदा नदीमा आएको बाढीले सबैभन्दा बढी दोधारा चाँदनी नगरपालिका, भीमदत्त, बेलौरी र पुनर्वास क्षेत्रमा क्षति गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख तथा प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले बताउनुभयो ।
महाकाली नदीमा सन् १९२९ यताकै सबैभन्दा ठूलो बाढी आएपछि त्यसले दोधारा चाँदनी तथा भीमदत्त नगरपालिकाको तटीय क्षेत्रमा रहेका सबै बस्ती जलमग्न बनेका छन् । जसको प्रभाव सबैभन्दा बढी दोधारा नगरपालिकाको वडा नम्बर १० र ९ मा परेको छ ।
मध्यरातमा बाढी घरभित्र पसेपछि स्थानीयले न तयारी अवस्थामा रहेको धानबाली नै भित्र्याउन पाए, न घरमा रहेको अन्न र लत्ताकपडा नै सुरक्षित स्थानमा राख्न पाए । घरमा अन्नको दाना तथा फेर्न एकजोर लुगा समेत नरहेपछि अहिले उनीहरुलाई खाने र लगाउने समस्या भएको स्थानीय बाढी पीडित बताउँछन् ।
महाकाली र जोगबुढा नदीको बाढीले बेला बेलामा दुख दिने गरेकाले यस क्षेत्रका स्थानीयले बाढीबाट बच्न घरको उचाई अग्लो बनाएका छन् । तर यसपटक भने महाकाली नदीमा आएको ९२ वर्ष यताकै ठूलो बाढीले कतिपयका कच्ची घरहरु भत्काएको छ भने पक्की घरहरुमा पनि लेदो भरिएको छ ।
जसले गर्दा पीडतहरुलाई घरमा बस्न समस्या भएको छ । बाढीले खानेपानीको धारा पनि पुरिएपछि उनीहरु दूषित पानी पिउन बाध्य छन् । नगरपालिका तथा रेडक्रससँग बस्नका लागि त्रिपाल तथा पानीमा हाल्ने औषधी माग गर्दा समेत कसैले वास्ता नगरेको बाढी पीडितहरुको गुनासो छ ।
उसो त सरकारले बाढीबाट प्रभावित भएकाहरुलाई लक्षित गर्दै राहत तथा क्षतिपूर्ति प्याकेजको आश्वासन दिइरहेको छ । तर पीडितलाई भने तत्कालको समस्याले सताएको छ । पीडितहरुका लागि एक महिनापछि राहत बाँड्नुको कुनै औचित्य हुने छैन ।
प्रतिक्रिया दिनुहोस्