
पोखरा । गण्डकी प्रदेश सरकारले सार्वजनिक यातायातको भाडादर तोक्न सिफारिस समिति गठन गरेको छ ।
मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता कुमार खड्काले भौतिक तथा पूर्वाधार मन्त्रालयका सचिव रामकृष्ण श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको बताउनुभयो । यसअघि संघ सरकारले मात्रै सार्वजनिक यातायातको भाडादर तोक्दै आएको थियो ।
प्रदेशलाई यातायातसम्बन्धी अधिकारसमेत रहेको हुँदा गण्डकी सरकारले भाडादर तोक्न लागेको हो । गण्डकी प्रदेश सरकारले भाडादर तोक्न आधारसमेत बनाउने गरी १० सदस्यीय सिफारिस समिति गठन गरेको हो ।
प्रदेश सरकारले हेलिकप्टर प्रयोग समिति समेत गठन गरेको छ । विभिन्न कामका लागि हेलिकप्टर आवश्यक हुने भएको भन्दै पर्यटनमन्त्री संयोजक रहेको समिति गठन गरेको हो ।
त्यसैगरी प्रदेश र स्थानीय तहबीच विवाद समाधान र समन्वय गर्न बनाइएको विधेयक प्रदेश सभामा पेश गर्ने निर्णय गरेको छ । मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन प्रदेश सभामा पेस गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।
प्रतिक्रिया दिनुहोस्