
प्रकाश नेपाल
इलाम । बेमौसमी झरीसँगै आएको बाढी र पहिरोले इलामका धेरैलाई परिवारलाई घरवारविहीन बनायो । पहिरोमा परेर १४ जनाले ज्यान गुमाए । सैयौं मानिस घरबारविहीन हुँदा उद्धार र राहत प्रभावकारी बन्न सकेको छैन ।
घरमाथिबाट खसेको पहिरोले पुरिएर जिल्लाको फाकफोकथुम गाउँपालिकामा एकै परिवारका ४ सहित ६ जनाको ज्यान गयो । मस्त निन्द्रामा रहेका बेला घरमाथिको ढिस्को खस्दा ८६ वर्षीय नैनसिंह, ७५ वर्षीया रनदत्ता, १५ वर्षीया निशाना र१३ वर्षीय निश्चतको ज्यान गयो । माथिल्लो तलामा सुतेका समिक्षा र गोमा भने बाँच्न सफल भए ।
माङसेवुङ गाउँपालिका पञ्चमी बजार नजिक पहिरोमा पुरिएकामध्ये २ जनाको शव भेटियो । घरमै पहिरो झर्दा ५५ वर्षीय हरिप्रसाद राई र २७ वर्षीया कमलसहित पाँच जना पुरिए । दुई जनाको शव भेटियो भने तीन जना सख्त घाइते अवस्थामा उद्धार गरियो ।
नेपालीहरूको महान चाड दशैंको उत्साह सकिन नपाउँदै धेरै घरपरिवार भावविह्वल बने । पहिरोले घर भत्काएहरू छिमेकीको घरमा आश्रय लिन बाध्य छन् । आफ्नो घर भत्किँदा र अरुको घरमा शरण हुनुपर्दा उनीहरूको दिल दुखेको छ ।
वर्षापछि ग्रामीण सडकहरू क्षतविक्षत भएर यात्रा गर्न मिल्ने अवस्थामा छैनन् । मेची राजमार्ग समेत ठाउँ–ठाउँमा भासिँदा यात्रा असहज भएको छ । प्रशासन सडक खुलाउन प्रयासरत भए पनि पटक–पटकको वर्षाले प्रयास सफल हुन सकेको छैन । यद्यपि प्रशासनको प्रयास जारी छ ।
जलवायु परिवर्तनको असर बढिरहेका बेला आएको यस्तो विपत्ति अझै पनि नआउला भन्न सकिन्न । त्यसैले सम्बन्धित निकाय पूर्व तयारीमा बस्न र नागरिक आफैँ पनि सचेत हुन जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्