१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कैलालीका बाढी पीडितलाई अनेरास्ववियू र राष्ट्रिय युवा संघद्वारा राहत वितरण


0
Shares

कैलाली । लगातारको वर्षापछि आएको बाढीले विस्थापित भएकाहरूलाई एमाले विद्यार्थी संगठन अनेरास्ववियू र राष्ट्रिय युवा संघ नेपालका कार्यकर्ताले राहत वितरण गरेका छन् ।

संगठनले कैलालीको टीकापुर नगरपालिका–८ बनगाउँका १ सय ५० घरपरिवारलाई राहत उपलब्ध गराएको हो । बाढीले हुलाकी सडक कटान गरेपछि उनीहरूले बोकेरै गाउँसम्म पुगेर राहत हस्तान्तरण गरेका थिए ।

कैलालीमा सबै भन्दा धेरै क्षति पुर्‍याएकोस्थानमा राहत वितरण गरिएको अनेरास्ववियू कैलालीका अध्यक्ष किशोर शाहले बताउनुभयो ।

तत्कालको लागि स्थानीयलाई समस्या नहोस् भन्नका लागि राहत उपलब्ध गराएको उहाँले बताउनुभयो । कसैबाट पनि राहत नपाएको स्थानमा आफूहरू वितरणमा लागेको उहाँको भनाइ छ ।

बाढी प्रभावित क्षेत्रमा स्वच्छ पिउने पानीको सबै भन्दा ठूलो समस्या छ । घरबारविहीनहरू दुई दिनसम्म भोकै रहेका थिए । अनेरास्ववियु र राष्ट्रिय युवा संघले उनीहरूलाई पिउने पानी, चाउचाउ, चिउरा, बिस्कुट र भुजा वितरण गरेको हो ।

आफ्ना नेता कार्यकर्ताहरूसँग रकम संकलन गरेर पीडितलाई राहत उपलब्ध गराएको राष्ट्रिय युवा संघ, कैलालीका अध्यक्ष गणेश महराले जानकारी दिनुभयो ।

आइतबार रातिबाट अविरल भएको वर्षाले देशका विभिन्न ठाउँका साथै सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा बाढी तथा सात पहाडी जिल्लामा पहिरोले ठूलो क्षति पुर्याएको छ । कैलालीमा सबैभन्दा टीकापुर, जानकी र भजनीमा बाढीले क्षति पुर्याएको प्रहरीले जनाएको छ ।