
नारायणी लामिछाने
काठमाडौं । सरकारले गाडी भाडा बढाएपछि त्यसको असर उपभोगीय सामानमा परेको छ । झट्ट हेर्दा यात्रुवाहक गाडीमा मूल्य बढेको देखिए पनि यसको प्रभाव बहुपक्षीय क्षेत्रमा पर्नेछ ।
उपत्यकाबाहेक बागमती प्रदेशका अन्य स्थानमा यात्रुवाहक बसको भाडादर २० देखि २३ प्रतिशतसम्म वृद्धि गरिएको छ । यात्रु बसको भाडा वृद्धि गर्दा त्यसको प्रभाव मुल्यवृद्धिमा पर्नुका साथै यसको बाछिटाले आर्थिक वृद्धिदर प्रभावित हुने देखिन्छ ।
भाडादरमा वृद्धिले एकातिर कामदारको ज्याला बढ्नुका साथै बजारमा भइरहेको मुल्यवृद्धिमा समेत थप सहयोग पुग्छ । प्रदेश सरकारले गुणस्तर सुधारसमेत गर्न नसकेको समयमा गाडी भाडाको वृद्धि उपभोक्ताको ढाड सेक्ने मेलो भएको उपभोक्ता हित संरक्षण मञ्चका सचिव हरि मैनाली बताउनुहुन्छ ।
बामगमती प्रदेश सरकारले ५ किलोमिटर सम्मको दूरीमा ३ रुपैयाँ वृद्धि गरी १८ रुपैयाँ कायम गरेको छ । यस्तै ५ देखि १० किलोमिटर सम्म २३ रुपैयाँ, १५ किलोमिटरसम्म २७ रुपैयाँ र २० किलोमिटर सम्म ३० रुपैयाँ र २० किलोमिटर बढि यात्रा गर्दा ३५ रुपैयाँ कायम गरिएको छ ।
पछिल्लो समय बाढीपहिरोका कारण ढुवानीमा समेत प्रत्यक्ष प्रभाव परिरहेको छ । एकातिर ढुवानीमा मुल्य बढिरहेको छ भने अर्कातिर बजारमा हरियो तरकारी, खाद्यान्नमा मनमौजी मूल्यवृद्धि छ । बजारमूल्य आकाशिँदा गरिबी दर बढ्नुका साथै आयातको आकार बढ्ने, विदेशी मुद्रा सञ्चिती घट्ने, व्यापार घाटाको आकार थप फराकिलो हुने अर्थविद् डा. चन्द्रमणि अधिकारी बताउनुहुन्छ ।
कतिपय लामो दुरीका यात्रुवाहक सवारीसाधनले तोकिएको भाडादर नै नलिने सर्वसाधारण बताउँछन् । सतहमा गाडी भाडाको प्रभाव गाडीमा देखिए पनि त्यसको असर बजारमा पर्ने निश्चित छ । गुणस्तरमा सुधार गरी उपभोक्तालाई सहजीकरण गर्दै वैकल्पिक बाटो अपनाउनुको साटो प्रदेश सरकार नै भाडा बढाउन व्यस्त देखिन्छ ।
सर्वसाधारणको भान्सासमेत असुरक्षित बन्दै गएको समयमा गाडीभाडा बढाइनुलाई जनविरोधी कदम किन नभन्ने ?
प्रतिक्रिया दिनुहोस्