
दुर्गा उपाध्याय
कञ्चनपुर । बाढीपहिरोले मच्चाएको वितण्डापछिको अवस्था अवलोकन गर्न सुदूरपश्चिम पुग्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले पीडितहरूलाई राहतको आश्वासन दिनुभयो । तर, उनीहरूको भविष्यका विषयमा आश्वस्त तुल्याउन सक्नुभएन । मुखमा आएको बाली, घरबासबाट विमुख पीडितहरू नाना, खाना र छानाको प्रतिक्षामा छन् ।
बेमौसमी वर्षाले आएको बाढीले कञ्चनपुरमा मानवीय क्षति नगरे पनि सात सय बढी पविार विस्थापित भएका छन् । गत आइतबार रातिदेखिको वर्षाले महाकाली तथा दोदा नदीमा आएको बाढीले सबैभन्दा बढी दोधारा चाँदनी नगरपालिका, भीमदत्त, बेलौरी र पुनर्वास क्षेत्रमा क्षति गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख तथा प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदी बताउनुहुन्छ ।
महाकाली नदीमा सन् १९२९ यताकै सबैभन्दा ठूलो बाढी आएपछि त्यसले दोधारा चादँनी तथा भीमदत्त नगरपालिकाको तटीय क्षेत्रमा रहेका सबै बस्तीहरू जलमग्न बनेका छन् । जसको प्रभाव सबैभन्दा बढी दोधारा नगरपालिकाको वडा नम्बर १० र ९ मा परेको छ ।
मध्यरातमा बाढी घरभित्र पसेपछि स्थानीयले न तयारी अवस्थामा रहेको धानबाली नै भित्र्याउन पाए, न घरमा रहेको अन्न र लत्ताकपडा नै सुरक्षित स्थानमा राख्न पाए । घरमा अन्नको दाना तथा फेर्न एकजोर लुगा समेत नरहेपछि अहिले उनीहरूलाई खाने र लगाउने समस्या भएको छ ।
महाकाली र जोगबुढा नदीको बाढीले बेला बेलामा दुख दिने गरेकाले यस क्षेत्रका स्थानीयले बाढीबाट बच्न घरको उचाई अग्लो बनाएका छन् । तर, यससपटक भने महाकाली नदीमा आएको ९२ वर्ष यताकै ठूलो बाढीले कतिपयका कच्ची घरहरू भत्काएको छ भने पक्की घरहरूमा पनि लेदो भरिएको छ ।
लेदो भरिएका घरहरूमा बस्न स्थानीयलाई समस्या भएको छ । बाढीले खानेपानीको धारा पनि पुरिएपछि उनीहरू दूषित पानी पिउन बाध्य छन् । नगरपालिका तथा रेडक्रससँग बस्नका लागि त्रिपाल तथा पानीमा हाल्ने औषधि माग गर्दासमेत कसैले वास्ता नगरेको बाढी पीडितहरूको गुनासो छ ।
उसो त सरकारले बाढीबाट प्रभावित भएकाहरूलाई लक्षित गर्दै राहत तथा क्षतिपूर्तिका प्याकेजको आश्वासन दिइरहेको छ । तर, पीडितलाई भने तत्कालको समस्याले सताएको छ । पीडितहरूका लागि एक महिनापछि राहत बाँड्नुको कुनै औचित्य हुनेछैन ।
प्रतिक्रिया दिनुहोस्