
म्याग्दी । म्याग्दीमा बेमौसमी वर्षा र हावाहुरीका कारण दुई सय हेक्टर क्षेत्रफलमा गरिएको धानबालीमा क्षति पुगेको छ । गत असोज ३१ गते रातिदेखि भएको वर्षा र हावाहुरीका कारण पानीले भिजेर र हावाहुरीले धानका बोट ढलाएर धान बालीमा क्षति पुगेको हो ।
जिल्लाको लेकाली क्षेत्रमा काटेर खेतमा सुकाएको धान पाँच दिनसम्मको लगातारको वर्षाले भिजेर खेतमै धानको दाना झरेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।
तल्लो क्षेत्रमा पाक्ने लागेका धानको बोट हावाहुरीले ढलाएपछि दाना पोटिलो नहुनुका साथै खेतमै दाना झरेकाले उत्पादन कम हुने देखिएको छ । जिल्लाभर तीन हजार ८ सय ९२ हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । गत वर्ष १३ हजार ६ सय २६ मेट्रिक टन धान उत्पादन भएकोमा यस धान भित्र्याउने समयमा भएको मौसमी प्रतिकुलताका कारण उत्पादन घट्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस्