२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


पाँचदलीय गठबन्धन प्रतिगामी हो– केपी ओली

‘एमाले कमजोर भयो भन्ने स्याल हुँइयाहरूका आवाज सुक्दै गयो’

0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनको चर्को आलोचना गर्नुभएको छ ।
पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले सरकार र सत्तारुढ गठबन्धनलाई प्रतिगमनकारीको संज्ञा दिँदै उनीहरूले देशलाई दिशाहीन अवस्थामा पुर्‍याउने प्रयास गरिरहेको आरोपसमेत लगाउनुभयो ।

शनिबार देशभरका पार्टी वडा अधिवेशनहरूको भर्चुअल माध्यामबाट एकसाथ उद्घाटन गर्दै उहाँले ३ महिनाको अवधिमा सरकारले मुलुकलाई अराजकतातर्फ धलेकिरहेको दावीसमेत गर्नुभयो । उहाँले सत्तारुढ पाँच दलीय गठबन्धनले कम्युनिष्ट आन्दोलनलाई ध्वस्त पारेर प्रतिगामी शक्तिहरूको सेवा गरिरहेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

अध्यक्ष ओलीले भन्नु भयो, ‘प्रतिगामी शक्तिहरु देशलाई अस्थिरतामा धकेल्ने काम गरिरहेका छन् । यो तीन महिनाको अवधिमा देखिसकियो–देशलाई अस्थिरतामा धकेल्ने, अग्रगमनमा व्यवधान खडा गर्ने, अग्रगमन हुन नदिने, स्वेच्छाचारिता, मनपरीतन्त्र देशमा लागू गर्ने, अनुशासनहीनता, अराजकता राज्यस्तरबाटै गर्ने, यस खालका क्रियाकलापहरू हामीले देखिराखेका छौं र यो विपरित बाटो हो । यो प्रतिगमनतर्फको बाटो हो ।’

उहाँले थप्नुभयो, ‘संविधानको कार्यान्वयनको सन्दर्भमा, राजनीति परिचालनको सन्दर्भमा, जनतामा रहेको सार्वभौमसत्ता, त्यसको अपब्याख्या गरेर अन्तै सार्न खोज्ने प्रयासको सन्दर्भमा अहिले भएका र भइरहेका गतिविधिहरू प्रतिगामी गतिविधिहरू हुन् । त्यस्ता प्रतिगामी गतिविधिहरुविरुद्ध जसको नेतृत्व यो गठबन्धन पाँच दलीय भन्ने गरेको छ, त्यो पाँच दलीय भनिएको गठबन्धन प्रतिक्रियावादी, प्रतिगामी गठबन्धन हो ।’

अध्यक्ष ओलीले आफ्नो पार्टीले आगामी निर्वाचनमा हरेक तहमा शान्दार ढंगले बहुमत ल्याउने गरी तयारी गरिरहेको दोहो¥याउँदै सोही अनुसार पार्टीको काममा जुट्न पनि नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले एमाले समाप्त हुन्छ भन्ने भ्रम चिरिएको उल्लेख गर्दै विरोधीहरूको भ्रममा नपरी देश निर्माणको अभियानमा जुट्न पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गर्नुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘एमाले कमजोर भयो भन्ने स्याल हुँइयाहरूका आवाज सुक्दै गएका छन् । सरकारबाट हटाएपछि एमाले समाप्त भयो र एमालेको युग अन्त्य भयो भनेर हल्ला चलाइयो । ती बेकारका बलेसीका पानी रहेछन् भन्ने कुरा स्पष्ट भइसक्यो । यी बलेसीका पानीका फोका हुन, तीनका आयू लामो छैन । तिनीहरूले हामीलाई बदनाम गर्न खोजे । चरित्र हत्या गर्न खोजे । हाम्रा विरोधीहरूका चाहना उनीहरूको आवश्यक्ता पूरा गर्ने होइन, हामीले हाम्रा अभिभारा पूरा गर्ने हो ।’

अध्यक्ष ओलीले पार्टीभित्र उन्नत स्तरको एकता रहेको दावी समेत गर्नुभयो । माधव नेपाल समेत बाहिरिएपछि पार्टी एकताबद्ध रहेको उहाँको भनाइ छ ।