२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


धानबालीमा अर्बौंको क्षति पुग्दा खाद्यसुरक्षा र बेरोजगारी बढ्ने चिन्ता

गत वर्ष मात्र ५० अर्बको धानचामल आयात भएको भन्सारको तथ्याङ्क

0
Shares

नारायणी लामिछाने
काठमाडौं । कृषि मन्त्रालयको प्रारम्भिक तथ्याङ्कअनुसार गत हप्ता देशका विभिन्न स्थानमा भएको बेमौसमी वर्षाले ७ अर्ब २२ करोड बराबरको धानमा क्षति पुगेको छ । प्रदेश २ को प्रभाव थपिँदा यो रकम अझै बढ्छ ।

मन्त्रालयका अनुसार लुम्बिनी प्रदेशको ४ अर्ब ५१ करोड बराबरको धानमा क्षति हुँदा सुदुरपश्चिम प्रदेशमा १ अर्ब ९१ करोड बराबरको धान नष्ट भएको प्रारम्भिक अनुमान छ । प्रदेश १ मा ८० करोडको धान नष्ट भएको मन्त्रालयले जनाएको छ । यद्यपि प्रदेश २ को क्षतिको विवरण आएको छैन ।

वर्षेनी भारत, बंगलादेश लगायतका देशबाट अर्बाैंको धान भित्रिने गरेको नेपालमा यसवर्ष पनि धानको आयात बढ्ने देखिएको छ भने व्यापार घाटाको आकार समेत बढ्नसक्ने देखिएको छ । नेपालका अधिकांश क्षेत्रमा उन्नत बीऊको प्रयोग नहुनु, समयमै मल नपाउने र निर्वाहमुखी खेती प्रणाली छ ।

त्यसमा पनि यस वर्ष बेमौसमी पानीको प्रभावका कारण अझै उत्पादनमा कमी आउँदा साना किसानले रोजगारी गुमाउनुका साथै खाद्य संकट निम्तन सक्ने कृषि विज्ञ देवेन्द्र गौचन बताउनुहुन्छ । यसले व्यापार घाटासमेत बढ्ने उहाँको भनाइ छ ।

कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको २५ प्रतिशत योगदान रहेको छ भने धानले मात्रै ११ प्रतिशत हिस्सा ओगटेको छ । नेपालको धानबालीको मुख्य क्षेत्र भनेको प्रदेश १, २ र लुम्बिनी प्रदेश हो । तर, बेमौसमी वर्षाको असर यी क्षेत्रमा परेको छ । मन्त्रालयका अनुसार यस वर्ष धान उत्पादन ६ प्रतिशतसम्म घट्ने देखिएको छ ।

कृषि मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा १४ लाख ७३ हजार ४ सय ७४ हेक्टर जमिनमा धान खेती हुँदै आएको छ । नेपालमा वार्षिक साढे २ खर्ब बढीको धान उत्पादन हुँदै आएको छ । यस वर्ष भएको बेमौसमी वर्षाले सरकारको ३ वर्षमा धानमा आत्मनिर्भर हुने योजनामा समेत धक्का लागेको कृषि विज्ञ गौचनको भनाइ छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार अघिल्लो महिना ५ अर्ब बढीको धान र चामल आयात भएको छ । विभागका अनुसार धान भारत, बंगलादेश अमेरिका, फिलिपिन्सबाट ल्याइएको हो ।

गत आर्थिक वर्ष २०७७/०७८ सालमा ५० अर्ब बढी बराबरको धान चामल आयात भएको भन्सार विभागको तथ्याङ्क छ । थाहा छैन, अर्को वर्ष आयातमुखी अर्थतन्त्रमा यो बोझको चुनौती कसरी झेल्नुपर्ने हो ?