२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


विकास निर्माणमा भारतीय ठेकेदार र मजदुरको वर्चश्व, कसैसँग छैन श्रम इजाजत


0
Shares

सुरेन्द्र भण्डारी
झापा । झापाको बाह्रदशी गाउँपालिकामा १२ करोड रुपैयाँको लागतमा दुई वर्षदेखि ‘कञ्जन धरहरा’ निर्माण भइरहेको छ । वडा नम्वर ६ स्थित साधुकाट्टीमा बनिरहेको धरहराका लागि गाउँपालिकाले क्रमागत बजेट छुट्याउने गरेको छ ।

कञ्चन धरहरा निर्माणको ठेक्का बाह्रदशी गाउँपालिका–४ स्थित टीवीएस् कन्ट्रक्सन सप्लायर्स प्रालिले लिए पनि काम गर्ने मजदुर भने भारतीय छन् । नेपालको निर्माण क्षेत्रमा काम गर्दा धेरै पारिश्रमिक पाइने भएकाले भारतको गिलावारीबाट आफूहरू नेपाल आएको रसिद उल बताउनुहुन्छ ।

उलसँगै २५ युवा निर्माण क्षेत्रमा काम गर्न नेपाल आएका छन् । उनीहरू झापाका विभिन्न ठाउँमा सञ्चालित विकास निर्माणका आयोजनामा कार्यरत छन् । निर्माणका कामहरू पाइने ठाउँमा आफूहरू जाने गरेको अर्का कामदार सद्दाम हुसेनको भनाइ छ ।

निर्माण क्षेत्रमा नेपाली युवाको आकर्षण घटेको निर्माण व्यवसायी छन् । नेपाली युवाले निर्माणको क्षेत्रमा काम नगर्दा मजदुर मात्र नभएर ठेकेदार समेत भारतीय नै लगाउनुपर्ने परिस्थिति सिर्जना भएको उनीहरू बताउँछन् । नेपालीहरू खाडीमा गएर निर्माण क्षेत्रमा काम गर्न तयार भए पनि नेपालमा काम नगरेको व्यवसायीको गुनासो छ ।

भारतीय नागरिकले नेपालमा आएर काम गर्दा श्रम इजाजत लिनुपर्छ । तर, नेपालमा आएका भारतीय ठेकेदारले निर्माण व्यवसायीको सहयोगमा श्रम इजाजतविना नै खुलेआम काम गरिरहेका छन् । मजदुरको हकमा स्थानीय पालिकाले उनीहरूलाई सूचीकृत गर्न सुरु गरे पनि ठेकेदारको पहिचान गर्न स्थानीय सरकार आफैं अलमलमा छ ।

भवन निर्माण गर्दा भवन संहिताको परिधिभित्र रही निर्माण गर्नुपर्ने हुन्छ । त्यस्ता भवन निर्माण गर्ने ठेकेदार र मजदुर दुवै तालिमप्राप्त हुनुपर्ने कानूनी प्रावधान छ । तर, भारतबाट ल्याइएका पेटी ठेकेदार र मजदुर तालिमप्राप्त छन् या छैनन् हेर्ने निकाय बेखबर छ ।

झापामा सञ्चालित ठूला–ठूला योजना समेत भारतीय मजदुरको भरमा निर्माणाधीन छन् । कामको खोजीमा लाखौं रुपैयाँ तिरेर विदेशतिर बरालिएका युवालाई स्वदेशमा नै सीप सिकाउँदै आत्मनिर्भर बनाउन सरकार दर्बिलो कदम चाल्न जरुरी देखिन्छ ।