१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


इच्छाराज तामाङमाथि उजुरीको चाङ…


13
Shares

दिपक श्रेष्ठ

काठमाडौं । पूर्वसांसद तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङमाथि अहिलेसम्म ११ सय ४७ वटा जाहेरी र ४ अर्ब ५५ करोड बढी बिगो दाबी गरी प्रहरीमा उजुरीको चाङ लाग्ने क्रम जारी छ । उनीमाथि अनुसन्धान गर्न थप १८ दिन हिरासत राख्ने अनुमति अदालतले दिएको छ । तामाङमाथि संगठित अपराधमा अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान व्यूरोले जानकारी दिएको छ ।

ठगी र रकम हिनामिनाको आरोपमा तामाङलाई दुई हप्ताअघि सीआईबीले पक्राउ गरेको सीआईबीका प्रवक्ता श्यामकुमार महत्तोले जानकारी दिनुभयो । पीडितहरु आफ्नो निक्षेप फिर्ता पाउन विभिन्न निकायमा धाइरहेका छन् । प्रहरीसँग गुहार मागिरहेका छन् । तर आश्वासनबाहेक विश्वास गर्ने आधार पाउन असफल छन् ।

हामीले बागमती प्रदेश कृषि भूमि तथा सहकारी मन्त्रालय अन्तर्गत रहेको सहकारी महाशाखाका रजिष्टार विक्रमप्रसाद पाण्डेले निक्षेपको सुरक्षाका विषयमा जिज्ञासा राख्दा पैसा फिर्ता आउने तर कसरी आउँछ भन्नेमा यकिन नरहेको बताउनुभयो । तामाङ्गले सहकारीको ७ अर्ब बढी रकम पटक पटक नियम बिपरित बिना धितो ऋण निकाल्दै आफू अनुकूलको व्यवसायमा लगानी गरेका थिए ।

उक्त सहकारीमा रकम राख्ने निक्षेपकर्ताहरु मध्य अधिकांश जागिरबाट अवकाश पाइसकेकाहरु छन् । सहकारीमा सन्चित रकम सन्चयकोष र उपदान बापत प्राप्त रकम हो । भविष्य सुरक्षित बनाउन सहकारीमा पैसा राखेकाहरुको भोक र निद्रा खोसिएको छ । निक्षेपकर्तालाई न्याय दिन सरोकारवालाहरुको सामूहिक प्रयास आवश्यक छ ।