२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बागलुङ-घोडाबाँध सडक कालोपत्रेका नहुँदा नागरिकलाई सास्ती


0
Shares

डम्मर बुढा मगर

बागलुङ । बागलुङ–घोडाबाँध सडक कालोपत्रेका लागि वर्षौँ अगाडीदेखि निर्माण कम्पनीसँग सम्झौता गरे पनि अहिलेसम्म कुनै प्रगति हुन सकेको छैन । समय–समयमा स्थानीय र सरोकारवालाको दबावका कारण ठेकेदार कम्पनीले काम गरे जस्तो गरे पनि सडकको अवस्था पुरानै छ ।

जिल्लाको बागलुङ, ढोरपाटन, गलकोट नगरपालिका, निसीखोला, तमानखोला, बडिगाड, ताराखोला गाउँपालिकाका हजारौँ नागरिक र लोकमार्ग हुँदै रोल्पा रुकुमका नागरिक समेत दैनिक यात्रा गर्ने गर्छन् । दैनिक सयौँ गाडीमा यात्रा गर्ने यात्रु समेत धुलो र हिलोले आजित बनेका छन् । यस खण्डको उपल्लाचौरदेखि घोडाबाँधेसम्मको २८ किलोमिटर सडक मध्ये तीन किलोमिटर भने केही समय अगाडी कालोपत्रे भइसकेको छ । अब २५ किलोमिटर सडक कालोपत्रे गर्न बाँकी रहेको छ ।

यस खण्डमा पर्ने सयौँ नागरिकले वर्षौँदेखि कालोपत्रेका लागि आवाज उठाए पनि उनीहरुको गुनासो सुनुवाई हुन सकेको छैन । बागलुङ नगरपालिका वडा नम्बर ३ खहरेका लालबहादुर खत्रीले सडक अव्यवस्थित सडकका कारण लोकमार्ग आसपासका नागरिकहरुले सास्ती खेप्नु परेको बताउनुहुन्छ ।

अर्का स्थानीय कमला कार्कीले सडकले स्थानीयलाई सुविधाभन्दा बढी समस्या थपि दिएको बताउनुभयो । कार्की सबैलाई सुविधा हुने हिसाबले घर जग्गा मासेर सडक निर्माण गर्न दिएको तर अहिले आफूहरु निकै ठूलो समस्या परेको बताउनुभयो । जिल्लाकै लाईफ लाइनका रुपमा रहेको सडकको यस्तो हालतले सरोकारवाला निकायलाई नै कुरिकुरी गरि रहेको छ ।