
डम्मर बुढा मगर
बागलुङ । बागलुङको निसीखोला गाउँपालिका– ५ मा रहेको निसी प्रहरी चौकीको जग्गा व्यवस्थापन नहुँदा प्रहरीहरु जीर्ण भवनमा बस्न बाध्य छन् । तत्कालीन निसी गाउँ विकास समितिले चौकीको जग्गा व्यवस्थापनका लागि विनियोजन गरेको बजेट पनि स्थानीय नेताहरुले चलखेल गर्दा अझै जग्गा व्यवस्थापन हुन सकेको छैन ।
गाविसले विभिन्न आर्थिक वर्षमा विनियोजन गरेको ७ लाख ५० हजार रुपैयाँ वर्षौँदेखि स्थानीय थम्मन घर्ती मगर, टंक पुन मगर र हिराबहादुर पुनले व्यक्तिगत रुपमा चलाउँदा अहिलेसम्म जग्गा व्यवस्थापन हुन नसकेको हो । जग्गा व्यवस्थापनका लागि विनियोजन भएको रकम थम्मन घर्तीले ४ लाख, हिराबहादुर पुनले १ लाख र टंक पुनले साढे २ लाख रुपैयाँ व्यक्तिगत रुपमा वर्षौदेखि राखेको पाइएको छ । तत्कालीन गाविसबाट चौकीकै जग्गा व्यवस्थापनका लागि छुट्याएको रकम दलित सञ्जालको खातामा राखिएको र दलित संजालको खाताबाट पुनले काम चलाउन लगेको तत्कालीन दलित सञ्जालका अध्यक्ष भुल बहादुर विकको भनाइ छ ।
पुनले विनियोजन भएको रकम सर्वदलीय समितिले आफूलाई अर्को व्यवस्था नहुँदासम्म राख्न भनेर दिएको जिकीर गरे । तर, स्थानीयले यो कुरा गलत भएको बताउँछन् । दलित सञ्जालको खातामा भएको एक लाख तत्कालीन अध्यक्ष भुलबहादुर विकबाट लगेको खुलेको छ ।
पुनले गत वर्ष एक लाख रुपैयाँ ब्याजसहित समितिलाई बुझाएको दाबी गरे पनि अहिलेसम्म तीन जनामध्ये कसैले पनि ब्याज नदिएको प्रहरी चौकी निसीका प्रमुख लालमणि भट्टटाईको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख कृष्णबहादुर पल्ली मगरले प्रहरी चौकीको अवस्था निकै कमजोर भएको भन्दै त्यसको व्यवस्थापनका लागि जग्गा खोज्ने प्रक्रिया सुरु भए पनि अहिलेसम्म पर्याप्त जग्गा पाउन नसकेको बताउनुभयो । दशकौँ पुरानो जीर्ण घरमा बसेका सुरक्षाकर्मी नै असुरक्षित छन् । आफै असुरक्षित रहेर सुरक्षाकर्मीले जनतालाई कसरी सुरक्षा दिन सक्लान् ?
प्रतिक्रिया दिनुहोस्