१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुडानमा प्रधानमन्त्रीसहित मन्त्रीहरू गिरफ्तार, सैनिक ‘कू’ को आशंका


0
Shares

एजेन्सी । अफ्रिकी मुलुक सुडानमा प्रधानमन्त्रीसहित मन्त्रीहरू गिरफ्तारमा परेका छन्। संक्रमणकालीन सरकारका प्रमुख सहित थुप्रैमन्त्रीहरु गिरफ्तारमा पर्नुले त्यहाँ सैनिक ‘कू’ भएको हुन सक्ने आशंका गरिएकाे छ ।

बिबिसीका अनुसार सोमबार बिहान उज्यालो नहुँदै केही मानिसहरूले प्रधानमन्त्री अब्दुल्लाह हामदोकसहित कम्तीमा चार जना मन्त्रीलाई नियन्त्रणमा लिएका छन्। उनीहरूलाई केही सैनिकले गिरफ्तार गरेको बताइएको छ। सेनाले भने अहिलेसम्म उनीहरूको गिरफ्तारीको जिम्मा लिएको छैन।

सुडानमा दुई वर्षदेखि राजनीतिक दलका नेता र सैनिक सहभागी संक्रमणकालीन सरकार थियो। लामो समय शासन गरेका ओमर अल बसिरलाई सत्ताच्युत गरेपछि उक्त संक्रमणकालीन सरकार बनेको थियो। प्रधानमन्त्रीसहित मन्त्रीहरू गिरफ्तारमा परेपछि प्रजातन्त्र पक्षधरहरूले सोमबार बिहानै राजधानी खार्तुममा प्रदर्शन आह्वान गरेका छन्।

खार्तुममा इन्टरनेट सेवा बन्द गरिएको छ । सामाजिक संजालमा आक्रोशित जनताहरूको प्रदशर्न गरिरहेको तस्वीर सार्वजानिक भएका छन् । खार्तुम विमानस्थलबाट हुने सबै अन्तर्राष्ट्रिय उडान निलम्बन गरिएको छ।

प्रत्यक्षदर्शीहरूले शहरभरि ठूलो संख्यामा सैनिक र अर्ध सैनिकहरू परिचालन गरिएको र नागरिकलाई हिँड्न प्रतिबन्ध लगाइएको समाचार संस्था रोयटर्ससँग बताएका छन्। सुडानको प्रमुख प्रजातन्त्रवादी समूहले सैनिक ‘कू’को प्रतिरोधका लागि नागरिकलाई सडकमा निस्कन आह्वान गरेका छन् । यसअघि गत सेप्टेम्बरमा पनि बसिरका समर्थकहरूले ‘कू’ को प्रयास गरेका थिए। त्यतिबेला ‘कू’ सफल नभए पनि संक्रमणकालीन सरकारमा तनाव थपिएको थियो।