
काठमाडौं । टी–२० विश्वकप क्रिकेट चलिरहेको छ । हरेक दिन क्रिकेटका खेलहरू भइरहेका छन् । क्रिकेटका खेलहरू भइरहँदा यसको पुरस्कार राशी पनि आईसीसीले सार्वजनिक गरिसकेको छ ।
आईसीसीले यस वर्षको विश्पकपमा क्रिकेटमा कुल ५६ लाख अमेरिकी डलरको पुरस्कार घोषणा गरेको छ । जसमध्ये पहिलो हुने टोलीले १६ लाख डलर, दोस्रो हुनेले ८ लाख डलर र सेमिफाइनलमा पुग्ने थप दुई टोलीले चार–चार लाख डलर पुरस्कार पाउनेछन् । यस्तै आईसीसीले अन्य टीमलाई पनि ४० हजारदेखि ७० हजार डलरसम्म पुरस्कार राशीको व्यवस्था गरेको छ ।
आईसीसी टी–२० विश्वकपको प्रसङ्ग चलिरहँदा पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप (पीएमजीसी)को पुरस्कार राशीको विषयमा पनि चर्चा भएको छ । यो प्रतियोगितामा विश्वकप क्रिकेटको भन्दा पनि बढी रकम पुरस्कार दिन लागेपछि यससम्बन्धमा चासो बढेको हो । पीएमजीसीले कुल पुरस्कार राशी ६० लाख अमेरिकी डलर रहने घोषणा गरेको छ भने विजेता, उपविजेता लगायतको टीमलाई कति पुरस्कार दिने भन्नेबारेमा जानकारी गराएको छैन ।
नोभेम्बर ३० देखि डिसेम्बर १९ सम्म लिग चरणका खेलहरू हुनेछन् । लिग चरणमा हरेक क्षेत्रबाट २० टीम सहभागी हुनेछन् । प्रतियोगितामा पूर्वी विश्व र पश्चिमी विश्व गरी दुई क्षेत्रका टीमहरू सहभागी हुनेछन् । यसबाट उत्कृष्ट १६ टीमले ‘लिग फाइनल’मा स्थान बनाउनेछन् ।
लिग फाइनलका खेलहरू नोभेम्बर २२ देखि २४ सम्म हुनेछन् । लिग फाइनलमा उत्कृष्ट प्रदर्शन गरेका पूर्वी विश्वका ९ र पश्चिमी विश्व ६ टीम गरी १५ टीमले ले ग्राण्ड फाइनल खेल्नेछन् । जसमा एउटा टोलीलाई विशेष आमन्त्रण गरिनेछ ।
पीएमजीसी प्रतियोगिता खेल्न नेपालबाट चार टीमले प्रतिस्पर्धा गरेकोमा डीआरएस नामक एउटा टीम छनोट भएको छ । अर्को दुई टीम बाहिरिसक्यो भने एउटा टीम अझै प्रतिस्पर्धामा छ ।
प्रतिक्रिया दिनुहोस्