२० फाल्गुन २०८१, मंगलबार | Tue Mar 4 2025


निर्वाचन आयोगद्वारा माघमा राष्ट्रियसभा निर्वाचन गर्न सरकारलाई सिफारिस

चाँडै नै सरकारले निर्वाचनकाे मिति ताेक्छ-प्रधानमन्त्री देउवा

0
Shares

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुनमा रिक्त हुने राष्ट्रियसभाका २० जना सदस्यको पदमा माघ पहिलो साता निर्वाचन गर्न सरकारलाई सिफारिस गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित सदस्यबीच आज सिंहदरबारमा भएको छलफलमा आयोगले माघ पहिलो साता निर्वाचन गर्न सरकारसमक्ष सिफारिस गरेको हो ।

प्रधानमन्त्री देउवाले भने चाँडै नै सरकारले निर्वाचनकाे मिति ताेक्ने बताउनुभएकाे छ । प्रधानमन्त्री देउवाले स्थानीय तहकाे आगामी निर्वाचन तथा प्रतिनिधि र प्रदेश सभामा रिक्त पदहरुकाे उपचुनावका लागि सत्ता साझेदार र अरु दलसँग छलफल गरेर निर्णय लिने बताउनुभएकाे आायाेगले जनाएकाे छ ।

संविधानको धारा ८६ को उपधारा ३ र राष्ट्रियसभा नियमावली, २०७५ को नियम २ सय ८ को व्यवस्थाअनुसार फागुनदेखि २० राष्ट्रियसभा सदस्यको पदावधि सकिँदै छ ।

आयोगका अनुसार चन्द्रबहादुर खड्काको स्थानमा गत जेठ १७ गते भएको उपनिर्वाचनबाट दृगनारायण पाण्डेय निर्वाचित भएकोमा उहाँको कार्यकाल पनि फागुन २० सम्म मात्रै कायम हुनेछ ।

यस्तै प्रदेशका १८ र प्रतिनिधिसभाका ४ सांसदको पनि पद रिक्त रहेकाले ती पदमा उपनिर्वाचन गर्नेबारे पनि छलफल भएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनुभयो ।

आयोगका अनुसार एमालेका ८, माओवादी केन्द्रका ४, नेकपा एकीकृत समाजवादीका ४, कांग्रेसका ३ र मनोनित एक सदस्यको पदावधि फागुन २० मा सकिँदैछ ।-अद्यावधिक गरिएकाे