
बिराज रोस्यारा
कैलाली । टीकापुर नगरपालिका–८ बनगाँउस्थित हुलाकी सडकको दुई सय ५० मिटर खण्ड बाढीले बगाएपछि स्थानीयलाई आवतजावतमा समस्या भएको छ । कैलाली र बर्दिया जोड्ने पुल नजिकैको गाउँमा सडक बगाएपछि स्थानीयलाई टिकापुरसम्म आउजाउ गर्न समस्या भएको हो ।
हुलाकी सडक निर्माण भएपछि स्थानीयलाई आवतजावत गर्न सजिलो थियो । तर, बाढीले सडक बगाएपछि यात्रा कष्टकर भएको स्थानीय भगन्तु चौधरीको दुःखेसो छ । सडक बगाएपछि औषधि उपचारलगायत दैनिक उपभोग्य वस्तुको किनमेल गर्नसमेत समस्या भएको उहाँको भनाइ छ ।
लगातार भएको वर्षाले कैलालीमा ठूलो जनधनको क्षति पुर्यायो । बाढीले सबैभन्दा बढी कैलालीको दक्षिणी क्षेत्रमा क्षति गरेको स्थानीय प्रशासनले जनाएको छ । टीकापुर नगरपालिका–८ बनगाँउमा सडक बगाएको छ भने अन्य ठाउँमा क्षतविक्षत छ । स्थानीय जयराम चौधरी, आफूहरूको दैनिकी नै टीकापुरसँग जोडिएकाले सडक बिग्रँदा दैनिकी कष्टकर भएको बताउनुहुन्छ ।
हुलाकी सडक भएर दैनिक विहान बेलुका काम गर्न र खेतीपातीमा आवतजावत गर्नुपर्ने स्थानीय प्रदिप चौधरीले बताउनुभयो । वर्षाले अन्नपात सखाप गरेपछि दैनिकी चलाउने बाटो समेत बन्द भएको छ । सरकारले जति सक्दो चाडो आवतजावत सजिलो बनाउन पहल गर्नुपर्ने उनीहरूको माग छ ।
बाढीले हुलाकी सडक बगाएपछि कैलाली र बर्दियाको सम्पर्क टुटेको छ भने भजनी र टिकापुरको सडक सञ्जालसमेत टुटेको छ । त्यसैले स्थानीय सरकारले जतिसक्दो चाडो यो सडकलाई ममर्त गरी आवतजावतलाई सहज बनाउनु आवश्यक देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्